रुद्रपुर, रुपन्देही। इलाका प्रहरी कार्यालय रुद्रपुरमा नयाँ कार्यालय प्रमुखका रूपमा प्रहरी निरीक्षक प्रशान्त तामाङ आएपछि कञ्चन गाउँपालिकामा शान्ति सुरक्षा व्यवस्थापन र लागूऔषध नियन्त्रणका गतिविधिले नयाँ गति लिएको देखिएको छ। विशेषगरी पछिल्ला केही वर्षदेखि कञ्चन क्षेत्र लागूऔषध ओसारपसार तथा दुरुपयोगका लागि ट्रान्जिट पोइन्टका रूपमा चिनिँदै आएकाले प्रहरी नेतृत्व परिवर्तनसँगै यस क्षेत्रमा निगरानी र कारबाहीलाई थप सशक्त बनाइएको हो।
प्रहरीले लागूऔषध नियन्त्रणलाई केवल घटनापछि कारबाही गर्ने विषयका रूपमा नभई अपराध हुनुअघि नै रोकथाम गर्ने रणनीतिका साथ नियमित गस्ती, शंकास्पद गतिविधिमाथि निगरानी, सूचना संकलन र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेको जनाएको छ। त्यसैको परिणामस्वरूप असार ९ गते राति गरिएको नियमित गस्तीका क्रममा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
प्रहरी निरीक्षक प्रशान्त तामाङको कमाण्डमा खटिएको इलाका प्रहरी कार्यालय रुद्रपुरको टोलीले असार ९ गते राति करिब ८:३० बजे कञ्चन गाउँपालिका–४ भैरवघाट क्षेत्रमा नियमित रात्रीकालीन गस्ती गरिरहेको अवस्थामा शंकास्पद रूपमा हिँडिरहेका दुई व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। कानुनबमोजिम गरिएको खानतलासीका क्रममा उनीहरूको साथबाट १ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–४ अस्नैयाका अन्दाजी ३८ वर्षीय प्रकाश थापा र सोही स्थानका अन्दाजी ३८ वर्षीय एकेश्वर पुन रहेका छन्। बरामद लागूऔषधसहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डी पठाइएको प्रहरी निरीक्षक तामाङले जानकारी दिएका छन्।
प्रहरीले लागूऔषध नियन्त्रणमा केवल पक्राउ र मुद्दा दर्तामै सीमित नभई सुधारमुखी दृष्टिकोण पनि अपनाएको देखिन्छ। सोही क्रममा लागूऔषध सेवनमा संलग्न रहेका अन्य चार जनामध्ये तीन जनालाई आफन्तको सहमतिमा अल्फा फाउण्डेसन, कञ्चन–१ दानपुर र एक जनालाई निष्पक्ष सेवा केन्द्र, सैनामैना मा सुधार तथा पुनःस्थापनाका लागि पठाइएको छ। उनीहरूको साथबाट कुनै पनि लागूऔषध बरामद नभएकाले उपचार र परामर्शमार्फत समाजमा पुनःस्थापना गर्ने उद्देश्यले सुधार केन्द्र पठाइएको प्रहरीले जनाएको छ।
यसले लागूऔषध प्रयोगकर्तालाई केवल अपराधीका रूपमा मात्र नभई उपचार र पुनःस्थापनाको आवश्यकता भएका व्यक्तिका रूपमा समेत हेर्ने प्रहरीको दृष्टिकोणलाई उजागर गरेको छ। सुरक्षा निकायका अनुसार कञ्चन गाउँपालिका विगतदेखि नै लागूऔषध ओसारपसार गर्ने समूहले प्रयोग गर्ने संवेदनशील क्षेत्रका रूपमा चिनिँदै आएको छ। पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, विभिन्न स्थानीय सडक सञ्जाल र सीमावर्ती क्षेत्रसँगको सम्पर्कका कारण यो क्षेत्र लागूऔषध कारोबारमा संलग्न समूहका लागि आवतजावतको मार्ग बन्ने गरेको सुरक्षा अधिकारीहरूको बुझाइ छ।
यही कारण प्रहरीले नियमित गस्ती, आकस्मिक चेकजाँच, सूचनाको परिचालन र शंकास्पद गतिविधिमाथि निगरानीलाई तीव्र बनाएको हो। प्रहरीको भनाइमा, लागूऔषध नियन्त्रणका लागि गरिने प्रत्येक कारबाही कुनै आकस्मिक निर्णयको परिणाम नभई सूचना, निगरानी र योजनाबद्ध सुरक्षा रणनीतिको हिस्सा हो।
प्रहरी निरीक्षक प्रशान्त तामाङले कञ्चन गाउँपालिकाभित्र लागूऔषध कारोबार, ओसारपसार र दुरुपयोग नियन्त्रणमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। उनले कानुनविपरीत गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइने र लागूऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइने बताएका छन्। उनका अनुसार प्रहरीको लक्ष्य केवल लागूऔषध बरामद गर्नु वा पक्राउ गर्नु मात्र होइन, लागूऔषधको आपूर्ति सञ्जाल तोड्नु, युवालाई यसको दुष्प्रभावबाट जोगाउनु र समुदायमा सुरक्षित वातावरण निर्माण गर्नु पनि हो।
प्रहरी निरीक्षक तामाङले लागूऔषध नियन्त्रण प्रहरीको एकल प्रयासबाट मात्र सम्भव नहुने धारणा राखेका छन्। उनका अनुसार स्थानीय सरकार, जनप्रतिनिधि, विद्यालय, अभिभावक, टोल विकास संस्था, आमा समूह, युवा क्लब, नागरिक समाज र सञ्चारमाध्यम सबैले आफ्नो-आफ्नो जिम्मेवारी निर्वाह गरे मात्र लागूऔषधविरुद्धको अभियान प्रभावकारी बन्न सक्छ।
उनले विशेषगरी अभिभावकलाई आफ्ना छोराछोरीको गतिविधिप्रति सजग रहन, विद्यालयलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, युवालाई दुर्व्यसनबाट टाढा राख्न तथा स्थानीयवासीलाई शंकास्पद गतिविधिबारे प्रहरीलाई समयमै सूचना दिन आग्रह गरेका छन्।
लागूऔषधविरुद्ध प्रहरीको पछिल्लो सक्रियताले कञ्चन क्षेत्रमा अपराध नियन्त्रणप्रति सुरक्षा निकाय गम्भीर रहेको स्पष्ट संकेत दिएको छ। नियमित गस्ती, योजनाबद्ध निगरानी, कानुनी कारबाही र सुधारात्मक कार्यक्रमलाई सँगसँगै अघि बढाउने रणनीतिले आगामी दिनमा लागूऔषध नियन्त्रणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यद्यपि, लागूऔषधजस्तो जटिल सामाजिक समस्याको दीर्घकालीन समाधान केवल प्रहरी कारबाहीबाट मात्र सम्भव हुँदैन। यसको अन्त्यका लागि कानुनी कठोरता, सामाजिक सचेतना, पुनःस्थापना कार्यक्रम, समुदायको सक्रिय सहभागिता र सबै सरोकारवालाबीचको निरन्तर सहकार्य समान रूपमा आवश्यक छ। प्रहरी निरीक्षक प्रशान्त तामाङको नेतृत्वमा सुरु भएको यो अभियान त्यस दिशामा अघि बढेको एउटा महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।


