नेपालको राजनिती पनि बडो बिचित्रको छ । २०४६ सालको आन्दोलनले पञ्चायती ब्याबस्थालाइ फालेर प्रजातन्त्रको पुनर्बहाली गर्यो भने ६२/६३ को आन्दोलनले लोकतन्त्र / गणतन्त्र ल्यायो ।
८२ को जेन्जी आन्दोलनले गणतन्त्रलाई पनि फाल्न खोजेकै हो तर राष्ट्रपतिले बडो जुक्ती लगाएर गणतान्त्रिक संविधान बचाए भनेर भन्नु त भयो, यथार्थतामा हेर्दा संविधान बिपरित शुशिला सरकारलाई उहाले नै शपथ खुवाउनु भयो । यसलाइ तत्कालिन अबस्थाको आबश्यकता र बाध्यताको सिद्धान्तमा जोडेर हेरियो ।
नेपालमा आफ्नो पक्षमा वकालत गर्नुपर्दा सबै काम संविधान र ऎन नियम बमिजिम नै भएको भनिन्छ भने बिपक्षमा बोल्नेहरुले सधै संविधान र कानुन मिचेको भन्ने गर्दछन तर बास्तबमा सहि र गलत के हो, को हो ? भनेर स्वतन्त्र बोल्ने नागरिकहरुको शंख्या अति न्यून छ । अहिले इतिहासकै शक्तिशाली मानिएको झण्डै दुइतिहाइको रास्वपाको बालेन सरकार सत्तामा छ, यसले चाह्यो र गर्न सक्यो भने नेपालमा जे पनि सम्भब छ ।
प्रजातन्त्रको नाउमा पुराना राजनैतिक पार्टी र सरकारका कामकारबाही बाट जनतामा बढ्दै गएको बितिष्णा, सामाजिक संजाल नियन्त्रणको बेमौसमी गलत निर्णय र देशीबिदेशी शक्तिहरुको षड्यन्त्रबाट ०८२ भाद्र २३/२४ को शान्तिपुर्ण जेन्जी आन्दोलनलाई घुसपैठ गराइ उत्तेजक बनाउदै देशमा हत्याहिंसा, आगलागी, तोडफोड र लुटपाटको घटना घटाउदै भयाबह अपुरणिय क्षती गराइए ।
गणतन्त्र कालमा बनेका सबैजसो सरकारले गरेका अपारदर्शी काम कारबाही, भ्रष्टाचार र मनपरीतन्त्रबाट वाक्क दिक्क भएका जनताले राजनैतिक परिवर्तनको चाहना राखे जसको प्रत्यक्ष फाइदा रास्वपालाइ हुन पुग्यो किन भने उ नया पार्टीको परिभाषा भित्र थियो, यो आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उसको समेत सहभागिता उल्लेख्य थियो जुन सबैले मनन गरेकै कुरा भयो ।
संसदिय निर्बाचन २०८२ मा स्वयं रास्वपाले पनि यति धेरै उर्लपात जनमत आफ्नो पक्षमा आउला भनेर सोच्नसम्म नसकेको परिणामको सफलता उसले प्राप्त गर्यो । पुराना पार्टिको बिकल्पको रुपमा जनताको अपार समर्थन र माया पाएको रास्वपाको झण्डै दुइतिहाइ बहुमतको सरकारप्रती जनताको ठूलो आशा छ, अपेक्षा छ, भरोसा छ, बिश्वास छ तर अहिलेसम्मको सरकारको काम कारबाही, यसले ल्याएको बजेट, चुनिएका जनप्रतिनिधिको रबैया, सरकारको कार्यशैली लगायत समग्र स्थितीको मुल्यांकन गर्दा देशले बिकासको फडको मार्ने र बिधिको शासन, सुशासन दिने छ भनेर ताली पडकाएर समर्थन गरिहाल्ने वा केही गरेन भनेर मुल्यांकन, बिरोध र आलोचना गर्ने समय भने भैसकेको छैन तथापी सरकार बनेको आज ८५ दिनसम्म आइपुग्दा सयदिन भित्र गर्ने भनिएका कति काम भए ? भन्नेबाटै हुने बिरुवाको चिल्लो वा फुश्रोपातको उदाहरण लिन सकिन्छ ।
बोलेरै विश्व रेकर्ड राख्नु भएका अर्थात बोलेरै नथाक्ने र बोलेरै जनताको मन जित्न सक्ने पार्टी नेता र बोल्दै नबोल्ने सरकार बिचको तालमेललाई धेरैले सन्देहको नजरले हेरिरहेका छन । जनता अहिले देशमा केही नया त हुन्छ हुन्छ भन्ने आशाको त्यान्द्रोमा बसिरहेका छन, प्रतीक्षा गरिरहेका छन, पर्ख र हेरको अबस्थामा छन । उनिहरुको आशा, भरोसा र बिश्वासलाइ कायमै राख्न सरकार सफल रहोस भन्ने कामना सबैले गरेकै अबस्था हो ।
निर्बाचनमा रास्वपाको जितको निश्चित भए संङ्गै उत्साहित हुँदै निरन्तर बढेको शेयर बजार बालेनसरकार बनेकै दिनदेखी लगातार घटिरहेको छ अर्थात शेयर बजारले अहिलेको सरकारको कामकारबाही र यसले प्रस्तुत गरेको बजेटलाइ पटक्कै बिश्वास गर्न सकिरहेको छैन, जुन शुभ संकेत होइन ।
बैङ्गमा थप अथाह पैसा थुप्रीएको छ भने ब्याबशायी तथा लगानिकर्ताहरु दिन दिनै पलायन भैरहेका छन । चिया निर्यातमा पटक पटक समस्या आइरहेको सुनिदै छ । यदि यो सरकार पनि असफल भयो भने, यो सरकार प्रती पनि जनताको भरोसा टुट्यो भने देश बिदेशमा रहेका सम्पुर्ण आम जनतामा जवरजस्त निराशा पैदाहुने मात्रै हैन कि ठूलो युवाशक्ती नै डिप्रेसनमा जाने खतरा हुनेछ, त्यसैले अहिलेको सरकारले जिम्मेवार बनेर सुझबुझका साथ आफ्ना काम कारबाहीहरुलाइ अघाडी बढाउने पर्ने हुन्छ ।
सरकार र रास्वपाले हाहाहुहु, लहडी निर्णय र केटाकेटीपन बाट माथी उठेर थप जिम्मेवार तवरले अघाडी बढोस भन्ने सल्लाह सुझाब र शुभकामना दिन चाहान्छु ।
जेन्जी आन्दोलन पश्चात् बनेको बालेन नेतृत्वको रास्वपाको बलियो सरकारले कस्तो बजेट ल्याउला भन्ने कौतुहलता आम नेपाली नागरिक र बिदेशी समेतलाइ चासोको बिषय थियो । हिजोका दिनमा बिदेशी ॠणको बिरोध गर्नेले नै अहिले इतिहासमै धेरै र ठूलो खरबौ खरबको बिदेशि र स्वदेशि ॠण लिने गरि घाटा बजेट ल्याए ।
बजेटले देश बिकासको कुनै ठूलो बिकासे परियोजना र दिर्घकालिन योजना दिन सकेन, केही रुघ्ण उद्योग संचालन गर्ने आशय ब्याक्त गरेपनि न त कुनै ठूलो नया उद्योग खोल्ने नै कल्पना गर्यो । बहालवाला कर्मचारिलाइ खुशी बनाउन २१% भन्दा बढी रकम छुट्याउने बजेटले अबकाश प्राप्त अग्रजलाइ आघात पुर्यायो, विभेद गर्यो ।
१२ लाख सम्ममा कर नलाग्ने ब्याबस्था गरेर मध्यम बर्गलाइ केही राहत पक्कै पनि बजेटले दियो नै तर निमुखा जनताले सरकारबाट केही पाएनन बरु उल्टै विभिन्न बिषयमा कर मात्रै थोपरियो । करोडौं अरबौ कमाउने ठुला ब्यापारिहरुले तिर्नुपर्ने ३९% को आयकरलाइ घटाएर २९% मा झारियो अर्थात धेरै कमाइ गर्नेहरुलाइ सिधै १०% छुट दिइयो भने स्वास्थ शिक्षा बिजुली लगायतमा करै करको बोझ थोपरियो । यस्तो अपेक्षा जनताले पक्कै पनि गरेका थिएनन ।
बजेटले निजि क्षेत्रलाइ भने बिश्वासमा लिन सफल भएको देखिन्छ ता पनि देशले कायापलट गर्न सक्ने कुनै मार्गचित्र बजेटमा भेटिएन । गाउँ गाउका जनताहरु बादर, दुम्सी, बनेल लगायतको जंगली जनावरबाट पिडित छन तर यसको समाधानको बारेमा एकशब्द बोलिएन ।
देशमा रोजगार बढाउने, बैदेशिक रोजगारको लागि बिदेशिने युवाशक्तिलाइ देशमै रोक्ने र बिदेशमा रहेकालाइ स्वदेश फर्काउने कुनै कार्यक्रम बजेटमा आएन जब कि अहिलेको निर्बाचनमा उनिहरुको समर्थन ठुलै थियो । मन्त्रालायको शंख्या घटाएर सरकारले देशमा शुशासन कायम राख्न केही सकारात्मक प्रयासहरु अबश्य शुरु गरेको छ जुन प्रशंसनिय कार्य हो ।
बिगतको सरकारको पालामा नियुक्ती भएका झण्डै १५०० बढीका राजनैतिक नियुक्तिका पदहरुलाइ एकैपटक बर्खास्त गरिएका छन तर तिनिहरुको स्थानमा समयमै नया नियुक्ती गर्न नसकेर कामु र निमित्तको भरमा काम चलाउनु परेको अबस्था छ जसको कारणले प्रमुखले नै गर्नुपर्ने कतिपय नितिगत निर्णय र समन्वयका कामहरु हुन सकिरहेका छैनन ।
सरकारले रातारात केपि ओलि लगायतलाइ पक्राउ गरि जनताको क्षणिक ताली आयो, वाही वाही पनि पायो अनि ढङ्ग नपुर्याइ पक्राउ गरेको कारणले छुटेपछी डवल गाली पनि खायो । पक्राउ गर्ने र छोडने काम नहोस, कसैलाइ पक्राउ गर्नु अघाडी बृहद छलफल, प्राप्त प्रमाणको पर्याप्तता र अभियोगको पुष्ट्याइमा एकिन होस । गणतन्त्रकालका उच्च पदस्थ कर्मचारी, सांसद, मन्त्री, राजनैतिक नियुक्ती पाएकाहरुको सम्पत्ती छानबिन गर्न उच्चस्तरिय आयोग गठन भएको छ जुन अनि नै प्रसंसनिय कार्य हो, यसलाइ जनताले भब्य स्वागत गरेका पनि छन तर त्यही भित्र बर्तमान र पुर्ब न्यायधिस, नया सांसद र मन्त्रीहरु, उपराष्ट्रपती, राष्ट्रपती लगायतको सम्पत्ती छानबिन नगर्ने रे भन्ने समाचारहरु बाहिरिएका छन जसलाइ नागरिकले खुलेरै बिरोध गरेको सन्दर्भलाइ सरकारले सुन्छ सुन्दैन हेर्न बाकी नै छ ।
अहिले देशमा च्याउसरी उम्रीएका ठुला साना भनिने सबै राजनैतिक दलहरु र उनिहरुका समर्थक कार्यकर्ताहरुमा जवरदस्त निराशा उत्पन्न भएको अबस्था छ । उनिहरु आफ्नो अस्तित्व जोगाउने दवाबमा देखिन्छन । नेका, राप्रपा लगभग फुटको संघारमा पुगिसकेका छन भने एमालेमा आन्तरिक किचलो शुरु भैसकेको छ ।
नाम मात्रका पार्टिको हुलसित एकता गरेर बनाइएको नेकपा पनि माओबादी कै प्रचण्ड एण्ड कंम्पनी भन्दा फरक हुन सकेको छैन । त्यसो त रास्वपालाइ समेत फुटाउन र यो सरकारलाइ गिराउन पनि पर्दाभित्र खेल शुरु भैसकेको भन्ने सुनिन्छ तर यस्तो नहोस, कुनै पनि पार्टी फुटनु हुदैन बरु जुटनु नै देश र जनताको हितमा हुनेछ भन्ने मेरो बुझाइ हो ।
मधेशको नाउमा राजनिती गर्दै आफ्नो स्वार्थका रोटि सेक्दै आएका मधेशबादी नेताहरु बालेनको उदयपछी तितरबितर भै एकादेशको कथा बनेपछी फेरि एकजुट हुने गोप्य तयारी गर्दैछन भने देशमा राजसंस्थाप्रतिको अपार माया, बिश्वास र भुमिकाको अपेक्षा गर्नेहरुको शंख्या पनि दिन प्रतिदिन बढ्दो छ । अधिकांश नेपाली नागरिकहरु प्रदेश संरचनाको मात्रै होइनकी समग्र गणतन्त्र कै बिपक्षमा छन ।
नागरिकले यो गणतान्त्रिक संबिधानमा आमूल परिवर्तन चाहान्छन तर जनताले चाहे अनुसार यसको संशोधन वा पुनर्लेखन गर्ने आट हिम्मत र हुनेस्थिती अहिलेको सरकारमा पनि देखिदैन, भलै सरकारले संविधान संसोधनको लागि कार्यदल बनाएको अबस्था बिद्यमान किन नहोस । यो सरकारले सबै थोक गर्नसक्ने सामार्थ्य राख्दछ तर कति गर्छ र कस्तो गर्छ भन्ने नै अहिलेको प्रतिक्षाको घडी हो ।
अब अलिकती नेकपा एमाले र बाम एकताको बारेमा चर्चा गरौ । २०७२/७५ को समयसम्म देश र जनतामा राष्ट्रबादी छवि बनाउदै बिकासको सपना देखाउने, सबैले सम्मान र माया गर्दै आइ लब यु भनिने केपि ओलिको समग्र राजनैतिक यात्रा सफलताको शिखरबाट त्यसपछिका उहाका आफ्नै विभिन्न गतिबिधिले केचना तर्फ झर्दै गैरहेको उहा आफैले बुझ्नै सक्नु भएन ।
आफ्नै इगो, घमण्ड, एकल निर्णय गर्ने शैली, प्रबृति, सल्लाहकारहरुको गलत सल्लाहको जालमा आफै फस्दै जानुभएको मात्रै होइन कि सिङै एमाले नै त्यसको चपेटामा पिसिएको अबस्था छ । नेपालको समग्र कम्युनिस्ट पार्टिको आधार, शक्ति, बल, मियो भनेकै नेकपा एमाले थियो र हो, यसलाइ तहसनहस नपारी नेपालमा राष्ट्रबादी धारलाइ कमजोर पार्न सकिँदैन भन्ने बिदेशी बुझाइको षड्यन्त्रमा उहा पर्नुभएकै हो तर यसको लागि उहाका आफ्नै कामकारबाही, गतिबिधी पनि केही हदसम्म जिम्मेवार छन । तिनकुने घटनालाई गम्भिरतापुर्बक त्यतिबेलै सूक्ष्म छानबिन गरेर देश जलाउन उद्दत समुहको पहिचान गरिएको भए राजनैतिक परिवर्तन त कुनैपनी बेला हुनसक्थ्यो तर जेन्जिको नाउमा घुसेका नकाबधारिहरुले त्यसरी देश जलाउन पाउने थिएनन ।
तामझामका साथ गरिएको गोदावरिको बिधान सम्मेलनका निर्णय आफैले उल्ट्याएर, बिद्यालाइ बाटो छेकेर तेश्रो पटकको लागि पदिय लोभमा आफै अध्यक्ष बन्नु उहाको गम्भीर भुल थियो । उहाले शुरुमै पार्टिमा आफू पछिको पार्टी नेतृत्वको बिकास गर्दै गएर सहजरुपमा हस्तान्तरण गरिदिनु पर्थ्यो तर ७० बर्ष र दुई कार्यकालको आफैले पारित गरेको निर्णय आफैले उल्ट्याएर म रहुन्जेल मै हुनुपर्छ भन्ने मनसाय राखेको प्रष्टै देखियो ।
अहिले नेकपा एमाले आफैमा समस्याग्रस्त छ, अन्यौलमा छ, अन्धकारमा छ, कुहिरोको कान भएको छ, बिचार र एजेण्डा बिहिन भएको छ । समग्रमा नेकपा एमाले पार्टी नेताहरुको बन्धकमा छ । कार्यकर्ताहरुलाइ आफ्ना नेताको नाम लिन र उनिहरुको पक्षमा जनतामा वकालत गर्न समेत कठिन परेको अबस्था छ भने नेताहरु आफाआफैमा पदिय कुर्चिको लडाइ र कसले कसलाइ पछार्ने वा देखाइदिने होडबाजिमा छन तर पार्टिको हित के मा छ र कसरी अघाडी बढ्दा राम्रो हुन्छ भन्ने बारेमा कुनै नेताले गम्भीर भएर सोचेको अबस्था देखिदैन ।
कुन पार्टिलाइ सत्तामा पुर्याउने भन्ने निर्णयकर्ता जनता हुन भने पार्टी कार्यकर्ताहरु भनेका जनता र पार्टिलाइ प्रत्यक्षरुपमा जोडने पुल हुन । कार्यकर्ताको भोटले मात्रै कुनै पार्टिले चुनाब जित्दैन, चुनाब जित्नको लागि जनताको मन जितेर त्यसलाइ भोटमा परिणत गराउनु पर्छ । चुनाबको बेला ईतिहास, बिकास र सिद्धान्तका नारा हैन कि समयको बहाब, चाहना, हल्ला, परिवर्तन र एजेण्डा मात्रै बिक्छन जुन एमालेबाट कुनै नया एजेन्डा प्रस्तुत हुन सकेनन । सधै जनतालाइ सुनाइने बिगतको बृद्धभत्ता, बिमा योजना, रानिपोखरी धरहरा निर्माण वा सुरुङ्गमार्गको बिकासका नाराहरु मात्रै पर्याप्त थिएनन । जवजको मार्गनिर्देशक सिद्धान्तलाई बिर्सदै जानुले पनि एमालेमा थप बिचलन आएको बुझ्न कठिन छैन ।
ओलि पछि नेकपा एमालेलाइ हाक्न सक्ने नेता को ? यो प्रश्नं अहिले पार्टिभित्र र पार्टिबाहिर बहसको बिषय बनेको छ । पक्कै पनि ओलिकै स्थान लिन सक्ने नेता अर्को छैनन तर यसो भन्दैमा नेतृत्व लिन सक्ने कोहि छैनन भन्ने अर्थ लगाउनु भने गलत हुनेछ ।
एकसे एक नेताहरु नेतृत्वको लागि सक्षम छन तर समस्या कहाँ नेर छ भने केपि ओलिलाइ जनताले र स्वयं एमालेकै अधिकांस कार्यकर्ताले चाहादैनन, अहिले पर्दामा देखिएका राम बहादुर थापा इश्वर पोख्रेल बिष्णु पौडेल शंकर पोख्रेल अष्टलक्ष्मी लगायतका नेताहरुमा आफैमा मेल छैन, एकले अर्कोलाइ चाहादैनन, स्विकार गर्नै सक्दैनन, एकले अर्कोको नेतृत्वलाई सहयोग नै गर्दैनन, सबैले आफै नेतृत्व लिन चाहान्छन तर उनिहरु कुनैको पनि नेतृत्वमा एमाले एकढिक्का भएर अघाडी बढनै सक्दैन । अहिलेको समय केपि ओलिको बिपक्षमा छ त्यसैले उहाको नेतृत्वबाट एमाले लोकप्रिय भएर अघाडी बढने कुनै आधार देखिदैन भने अर्कोतिर केपिको अभिभाबकिय भुमिका बिना पार्टी एकढिक्का हुनै सक्दैन । पार्टिको लागि उहाको सुझाब सल्लाह सहयोग र मार्गनिर्देशनको सधै आबश्यकता भने रहिरहने छ ।
बिष्णु / शंकरको जडिबुटी भेलाबाट पनि एमाले अघाडी बढन सक्दैन । यी दुबै आत्मघाती बाटाहरु हुन । भाडभैलो मच्चाउन सजिलो छ बनाउन गार्हो हुन्छ भन्ने बुझ्नु पर्छ । एमाले भित्र निश्कलंक नेता खोज्ने हो भने गोकर्ण बिष्ट सम्म पुग्न सकिन्छ तर अहिल्यै उहालाइ कसैले नेतृत्वमा ल्याउने सम्भावना पनि देखिदैन । एमाले कार्यकर्ताको थप पलायन र उदासिनतालाइ रोक्नु ढिला गर्नै हुदैन त्यसैले जेन तेन सबैले स्विकार गर्न सक्ने, स्विकार गर्नैपर्ने, देश बिदेशले समेत पत्याउने, बिकल्पमा सोच्नुपर्दा बिद्या भण्डारी साझा पात्र बन्न सक्नुहुन्छ तर उहा नै दिगो र अकाट्य भने होइनन ।
देश र जनताले चाहेको परिवर्तनको बाटोलाई आत्मसाथ गर्दै तत्काल पुरानो केन्द्रिय कमिटी भंङ्ग गरेर बृहद छलफल गरेर पुर्ण सहमतिमा बिद्यालाई संयोजकको रुपमा नेतृत्व सुम्पेर सहमतीमै नया अन्तरिम केन्द्रिय कमिटी गठन गरि एक बर्ष भित्र अधिबेशन गर्ने गरि अघाडी बढेमा पुस्तान्तरणको कार्य प्रारम्भ हुने देखिन्छ । अब आउने नेतृत्वले एकल आदेश दिने गरि गरिने निर्णय प्रकृयालाइ सामुहिक छलफलबाट निर्णय लिने गराउने पद्दती बसाउदै देशलाइ गति दिन नितान्त फरक एजेण्डा जनतामा दिनुपर्छ जसले देशमै तरंङ्ग उत्पन्न गरोस, जनताले तालिको गडगडाहटले स्वागत गरून्, आम जनता नेकपा एमालेमा आबद्द हुन लालायित बनुन, भरोसा गरून् । के यस्तो सोच, हिम्मत र बुद्दी एमालेका नेतामा आउला ?
अर्को एउटा कहिल्यै हुनै नसक्ने बाम एकता भन्ने बडो रमाइलो कहानी बेलाबेलामा सुन्न पाइन्छ । नेपालमा कोहि पनि कम्युनिस्ट छैनन, सबै कमाउनिस्ट र अपरचुनिष्टहरु मात्रै छन भलै उनिहरुका राजनैतिक ब्यापारिक सटरका नामहरु भने फरक फरक छन । अप्ठेरो पर्दा बामएकताको नारा जप्ने र आफ्नो स्वार्थ पुर्ती हुने भएसी भुसुक्कै बिर्सने उनिहरुको चरित्र नै हो । फेरि पनि बाम एकताको नाउमा उनै ओलि, प्रचण्ड, माधब नेपाल वा झलनाथलाइ आसनमा राखेर कम्युनिस्ट नामको कुनै नया पसल खोल्दैमा त्यो बजारमा चल्छ भनेर सोच्नु नै मुर्खता हो ।
यो संसारमा प्राणिहरु जन्मिनु नै एकदिन मर्नको लागि हो भने जस्तै उनिहरुको एकता नै फुटनको लागि हो, एकले अर्कोलाइ पछार्नको लागि हो त्यसैले यसको औचित्य कहिल्यै पूरा हुदैन र कुनै उपलब्धी पनि प्राप्त गर्दैन । देश र जनताको भलो चाहाने हो भने सबै कम्युनिस्ट भनिनेहरु एउटा कित्तामा, आफुलाइ प्रजातान्त्रिक मान्नेहरु अर्को कित्तामा र बैकल्पिक शक्तिको रुपमा रहेका राजसंस्थाबादीहरु एक आपसमा मिलेर देशमा मात्र तिनवटा पार्टी बनाउने हो भने शुसासन र बिकास टाढा छैन तर यो हुन पनि सक्दैन र हुन पनि दिदैनन । अन्त्यमा सत्तामा जुनसुकै पार्टी आउन, बसुन तर सबैको लक्ष्य र केन्द्रबिन्दु भनेको नेपालको राष्ट्रियताको संम्बर्दन, सुरक्षा, बिकास र शान्ती नै हुनुपर्दछ, पात्रहरु गौण हुन ।


