बागमतिका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत

एटुजेड समाचार

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार साँझ बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा उनले ५७ सांसदको समर्थन पाएका हुन् ।

१०४ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५३ मत आवश्यक पर्नेमा मुख्यमन्त्री मगरले आवश्यकभन्दा चार मत बढी प्राप्त गरे । उनको पक्षमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद उभिएका छन् ।

एमालेका २४, नेकपाका २६ र राप्रपाका सात सांसदले विश्वासको मत दिएपछि मगरको सरकार तत्कालका लागि सुरक्षित बनेको हो । तर विश्वासको मत लिनुअघि सत्तारूढ गठबन्धनभित्रै देखिएको असन्तुष्टिले राजनीतिक माहोल भने तनावपूर्ण बनेको थियो । मन्त्रालयको भागबण्डा, मन्त्री चयन र शक्ति बाँडफाँटमा नेकपाका केही सांसद असन्तुष्ट भएपछि उनीहरू प्रदेश सभा बैठकमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने अन्योलसमेत सिर्जना भएको थियो ।

अन्ततः प्रदेश सभा बैठक सुरु हुनुअघि सत्तारूढ तीन दलबीच ६ बुँदे सहमति भएपछि विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाइएको हो । राप्रपामा भने विवाद झनै रोचक देखियो ।

पार्टी केन्द्रको निर्देशनविपरीत सरकार गठनमा समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापामाथि पार्टीले कारबाही गरेको थियो । त्यसमाथि राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री मगरलाई विश्वासको मत नदिन ह्विप जारी गरेकी थिइन् ।

तर पार्टीको ह्विपलाई चुनौती दिँदै राप्रपाका सातै जना सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गरे। पक्षमा मतदान गर्नेमा संसदीय दलका नेता उद्धव थापासहित गिरबहादुर तामाङ, राजु श्रेष्ठ, राजेन्द्र प्रजापति, मनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङ छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु