भरतपुर महानगरमा रहेका २९ वटा सहकारी संस्था खारेज

एटुजेड समाचार

चितवन – भरतपुर महानगरमा रहेका २९ वटा सहकारी संस्था खारेज गरिएको छ । भरतपुर महानगरपालिकाभित्रका कार्य क्षेत्र रही सञ्चालनमा रहेका सहकारी संस्थाहरूले गरेका कारोबारलाई वार्षिक तथा मासिक रूपमा सहकारी व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक नगरेपछी खारेज गरिएको हो ।

प्रत्येक आर्थिक वर्ष शुरु भएको ३ महिनाभित्र लेखा परीक्षण गर्नुपर्ने, ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरी सोको प्रतिलिपि तथा लेखापरीक्षण प्रतिवेदन लगायत अनुमोदित नीति र नियमहरू साधारण सभा भएको मितिले १५ दिनभित्र नियामक निकाय भरतपुर महानगरपालिकामा बुझाइसक्नुपर्ने कानूनी व्यवस्था रहेकोमा ती सहकारी संस्थाहरूले उल्लेखित नियमहरू पुरा नगरेको भनी महानगरले खारेज गरिदिएको हो ।

स्थलगत अनुगमन गर्दा संस्थाको कार्यालय नभेटिएको, सञ्चालक समितिहरू समेत सम्पर्कमा नआएकोले सहकारी ऐन अनुसार लगातार २ वर्षभन्दा बढी कुनै कारोबार नगरी निष्क्रिय रहेकाले भरतपुर महानगरपालिका सहकारी ऐन २०७५ को परिच्छेद १४ को दफा ६६ को उपदफा ३ अनुसार सहकारी संस्था दर्ता खारेजी प्रक्रिया अघि बढाइएको महानगरले जनाएको छ ।

खारेज गरिएका सहकारी संस्थाहरूमा ठिमुरा दुग्ध उत्पादक सहकारी संस्था, धौलाश्री कृषि सहकारी संस्था, सालघारी जडिबुटी उत्पादक सहकारी संस्था, कृष्ण दुग्ध उत्पादक सहकारी संस्था, सुरभी कृषि सहकारी संस्था, क्रियाशील कृषि सहकारी संस्था, समर्पण दुग्ध उत्पादक सहकारी संस्था, संयुक्त दुग्ध उत्पादक सहकारी संस्था, नमुना दुग्ध उत्पादक सहकारी संस्था र मंगलपुर साना किसान कृषि सहकारी संस्था छन्।

यसैगरी प्रसिद्ध जडिबुटी सहकारी संस्था, सहज कृषि सहकारी संस्था, हस्तवीर हिमाल दुग्ध उत्पादक सहकारी संस्था, भुवनबस्ती दुग्ध उत्पादक सहकारी संस्था, आदर्श दुग्ध उत्पादक सहकारी संस्था, शारदानगर दुग्ध उत्पादक सहकारी संस्था, शखर दुग्ध उत्पादक सहकारी संस्था, स्वयं सहायता कृषि सहकारी संस्था, त्रिगाउ कृषि सहकारी संस्था खारेज भएको छ।

त्यस्तै केरुङ्गा दुग्ध उत्पादक सहकारी संस्था, पौरखी महिला कृषि सहकारी संस्था, सूर्य रत्न दुग्ध उत्पादक सहकारी संस्था, सुनौलो बिहानी महिला दुग्ध उत्पादक सहकारी संस्था, सुजनशील मौरीपालन सहकारी संस्था, शुक्रनगर दुग्ध उत्पादक सहकारी संस्था, मनोकामना कालिका दुग्ध उत्पादक सहकारी संस्था, दिव्य ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था र तेलौली दुग्ध उत्पादक सहकारी संस्था पनि खारेजीमा परेका छन्।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु