तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरोसहित हिलोमाटो र ढुङ्गा खस्दा पृथ्वीराजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार शुक्रबार राति करिब १० बजे सडकभन्दा करिब ३० मिटर माथिबाट ठूलो परिमाणमा हिलोमाटो र ढुङ्गा खसेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको हो। पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
सडक खुलाउने कार्यका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक सहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। साथै, सडक डिभिजन कार्यालय आँबुखैरेनीसँग समन्वय गरी पहिरो पन्छाउन जेसीबीसमेत घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।
सुरक्षाकर्मी र प्राविधिक टोलीले सडक सञ्चालनमा ल्याउन आवश्यक काम गरिरहेको बताइएको छ। सडक खुलाउन केही समय लाग्न सक्ने भएकाले उक्त मार्ग हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
घटनाको थप विवरण तथा सडक सञ्चालनसम्बन्धी अद्यावधिक जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


