ट्रकको ठक्करबाट डिउटीमा खटिएका सशस्त्र प्रहरीको मृत्यु

एटुजेड समाचार

बर्दियामा ट्रकको ठक्करबाट डिउटीमा खटिएका सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। सो घटनामा एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्।

आइतबार बिहान बाँसगढी नगरपालिका-५ मोतिपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेलको मृत्यु भएको हो। यस्तै दुर्घटनामा परी सशस्त्र प्रहरी जवान बाँसगढी नगरपालिका-८ ककौराका ३५ वर्षीय दीपक कुमार जंग शाह घाइते भएका छन्।

डिउटीमा खटिएको सशस्त्र प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ५७ नम्बर पिलर नजिकबाट २ भैंसी र एउटा पाडा नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका भैंसी र पाडालाई गुलरिया भन्सार पुर्‍याउने क्रममा गुलरिया नगरपालिका-११ लालपुर स्थित आइतबार बिहान सवा ५ बजे पछाडिबाट ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

नेपालगन्जबाट गुलरिया तर्फ आइरहेको बा.प्र. ०३-००१ ख १४१२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा दुवै प्रहरी घाइते भएका थिए। घाइते दुवै जना प्रहरीलाई उपचारको लागि बर्दिया अस्पताल पुर्‍याउँदा चिकित्सकले कडेललाई मृत घोषणा गरेका थिए। यस्तै घाइते शाहको प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज, कोहलपुर रिफर गरिएको छ। मृतक कडेल र घाइते शाह सशस्त्र प्रहरी फर्वाड अपरेटिङ बेस गणेशपुरमा कार्यरत रहेका थिए।

दुर्घटनामा एउटा भैंसीसमेत मरेको प्रहरीले जनाएको छ। ट्रक चालक जिल्ला मकवानपुर बागमती गाउँपालिका-५ समरी (हेटौंडा)का ४० वर्षीय निरन्जन दर्जीसमेत घाइते भएका छन्। घाइते चालकको बर्दिया अस्पताल स्थित उपचार भइरहेको छ। ट्रकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी रेशम बोहराले जानकारी दिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु