तीर्थयात्रीका लागि दामोदरकुण्ड खुलाः धर्मशालामा निःशुल्क भोजनको व्यवस्था

काठमाडौं –  हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ। उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित यो कुण्ड समुद्री सतहदेखि चार हजार ८९० मिटरको उचाइमा रहेको छ।

मुस्ताङको दुर्गम क्षेत्रमा रहेको यस कुण्डमा पुग्ने मार्गहरूको मर्मत कार्य सम्पन्न भएसँगै यात्रा सहज बनाइएको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष ज्याङ छेसाa गुरुङले जानकारी दिए ।

यस वर्ष दर्शनार्थीलाई लक्षित गरी साउन महिनासम्मका लागि विशेष सुविधाको व्यवस्था गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार दामोदरकुण्ड क्षेत्रमा रहेको धर्मशालामा जेठ २२ गतेदेखि नै निःशुल्क भोजनको सुविधा उपलब्ध गराइएको छ, जसलाई स्थानीयले चन्दामार्फत सञ्चालन गर्दै आएका छन् ।

कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक हुँदै चराङ र त्यहाँबाट दुई घण्टाको सवारी यात्रा गरी झुमा ठाँटीसम्म पुग्न सकिन्छ । सडक मार्गको पहुँचपछि बाँकी यात्राका लागि भने तीर्थालुहरूले घोडा वा पैदल यात्रा गर्नुपर्ने हुन्छ ।

कठिन भौगोलिक बनावटका कारण पैदल हिँड्न समस्या हुने तीर्थयात्रीका लागि प्रतिघोडा १० हजार रुपियाँसम्मको शुल्क तोकिएको दामोदरकुण्ड मुक्तिनाथ विकास समितिले जनाएको छ । समितिले तीर्थयात्रीहरूलाई लेक लाग्ने समस्या भएमा उद्धार तथा उपचारमा समेत सहयोग गर्दै आएको छ ।

कालीगण्डकी नदीको उद्गमस्थल र मुक्तिक्षेत्रको शिर मानिने दामोदरकुण्डको ठूलो धार्मिक महत्त्व छ। यहाँ तीनवटा जलाशयहरू चक्रकुण्ड, दूधकुण्ड र तामाकुण्ड रहेका छन्, जसमध्ये चक्रकुण्डलाई मुख्य मानिन्छ ।

विशेषगरी यहाँ पाइने शालिग्राम शिला र पवित्र जल लिनका लागि भक्तजनहरू कष्टपूर्ण यात्रा गरी यहाँ पुग्ने गर्छन्। कुबेरका पुत्रहरूले यहाँ स्नान गरी पापबाट मुक्ति पाएको धार्मिक मान्यता छ ।

दामोदरकुण्ड मुक्तिनाथ विकास समितिको मातहतमा रहेको यस क्षेत्रमा गाउँपालिकाले आवास र भोजनको प्रबन्ध मिलाएपछि तीर्थयात्रीहरूलाई केही सहज भएको छ। पवित्रता, शान्ति र प्रकृतिको काखमा रहेको यस कुण्डको यात्राले आध्यात्मिक पुण्य मिल्ने विश्वासका साथ बर्सेनि हजारौँ दर्शनार्थी यहाँ पुग्ने गर्दछन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु