एन्फामाथि लागेका भ्रष्टाचार र अनियमितता आरोप छानबिन गर्न उपसमिति गठन

एटुजेड समाचार

अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र भइरहेको भनिएको अनियमितता, भ्रष्टाचार तथा पदको दुरुपयोग सम्बन्धी उजुरीमाथि छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपाध्यक्ष विशाल श्रेष्ठको‌ संयोजकत्वमा ५ सदस्यीय छानबिन उपसमिति गठन गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष एन्फाविरुद्ध विभिन्न गम्भीर आरोपसहित उजुरी परेपछि सो विषयमा ७ दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न मन्त्रीबाट राखेपलाई निर्देशन दिइएको थियो।

त्यसैअनुसार राखेपको कार्यकारी समितिको ५९औं बैठकले राष्ट्रिय खेलकुद विकास ऐन बमोजिम उपसमिति गठन गर्ने निर्णय गरेको बताइएको छ।

उजुरीमा एन्फामाथि राष्ट्रिय हित र प्रतिष्ठाविपरीत होम गेम बिक्री गरेको, राखेपको निर्देशन अवज्ञा गरेको, अवैध भत्ता वितरण गरेको, महिला साफ च्याम्पियनसिप २०२४ का क्रममा होटल दररेटमा कमिसन र भ्रष्टाचार गरेको, स्वीकृतिविना वैदेशिक भ्रमण गरेको, अनुदान रकमको दुरुपयोग तथा अनावश्यक नियुक्ति गरेको लगायतका आरोप लगाइएको छ।

यस्तै, विभिन्न समयमा भएका टेन्डरहरू प्रचलित कानुनअनुसार नगरेको तथा विभिन्न प्रतियोगिताको मार्केटिङ, डिजिटल, ब्रोडकास्टिङ र टिकटिङ अधिकार प्रदान गर्दा भ्रष्टाचार भएको आरोप पनि उजुरीमा उल्लेख गरिएको छ।

उपसमितिमा राखेप सदस्यमा कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठ, चार्टर्ड एकाउन्टेन्ट प्रकाश अधिकारी तथा शिक्षा तथा खेलकुद मन्त्रालयका एक प्रतिनिधि रहनेछन्। उपसमितिको सचिवको जिम्मेवारी खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानु राजा केसीलाई दिइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु