मन्त्रीको गाडी रोक्न सडकमै सुते स्थानीय

एटुजेड समाचार

विराटनगर – वर्षौंदेखि जीर्ण रहेको सडक मर्मतमा कसैले चासो नदिएको र दैनिक दुर्घटना बढेको भन्दै विराटनगरका स्थानीयवासी आन्दोलित भएका छन् । सडकको बिजोग हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै बिहीबार स्थानीयवासी कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको गाडी रोक्न सडकमै सुतेर विरोधमा उत्रिएका हुन्।

विराटनगरको पुष्पलाल चोक–तिनपैनी सडक खण्डअन्तर्गत ल क्याम्पस अगाडि जम्मा भएका विराटनगर वडा नं. १ र ३ का बासिन्दाले ढाट लगाएर सडक अवरुद्ध गर्नुका साथै मन्त्रीको गाडी रोक्न सडकमै पल्टिएका थिए । दैनिक यही सडक भएर आवतजावत गर्ने मन्त्रीले समेत सडकका खाल्डाखुल्डी र जनताको सास्तीप्रति आँखा चिम्लिएको भन्दै आक्रोशित स्थानीयले मन्त्रीको गाडी घेराउ गरेका हुन्।

‘हामीलाई राजनीतिक आश्वासन होइन, ज्यान जोगाउने सुरक्षित सडक चाहिएको हो,’ आन्दोलनमा सहभागी स्थानीय भने, ‘पटक–पटक सम्बन्धित निकायमा धाउँदा र आग्रह गर्दा पनि कसैले सुनेन। हाम्रा कुराको सुनुवाइ नै नभएपछि बाध्य भएर सडकमै सुतेर मन्त्रीको गाडी रोक्नुपरेको हो।’

स्थानीयका अनुसार खाल्डाखुल्डीले भरिएको उक्त सडकमा दैनिक दुईदेखि चार वटासम्म साना–ठुला सवारी दुर्घटना हुने गरेका छन् । बाटोमा भएका ठुला खाल्डाका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ।

सडक बिग्रिनुको मुख्य कारण ओभरलोड सवारी साधन रहेको स्थानीयको ठहर छ । बालुवा, गिट्टी तथा निर्माण सामग्री बोकेका अत्यधिक भार भएका टिपरहरू दैनिक सयौँको सङ्ख्यामा यही सडक भएर गुड्ने गरेका छन् । तर, ओभरलोड नियन्त्रणमा सरकारी निकाय र ट्राफिक प्रहरीले कुनै प्रभावकारी भूमिका नखेलेको उनीहरूको आरोप छ।

यो सडक विराटनगर महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्छ। महानगरले आर्थिक वर्ष २०८१ को अन्त्यतिर मर्मतको काम गरे पनि कमसल सामग्रीको प्रयोग र अनियमितताका कारण केही समयमै सडक पुरानै जीर्ण अवस्थामा पुगेको स्थानीय बताउँछन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु