काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको महासंग्राम विश्वकप बिहीबारदेखि सुरु हुँदैछ । यो प्रतियोगिताको आयोजकमध्येको एक अमेरिका र विश्वकपमा स्थान सुरक्षित गरेको इरान एक अर्काविरुद्ध युद्ध लडिरहेका छन् ।
संयोगवस इरानका समूह चरणका सबै खेल अमेरिकामा नै परेका छन् । युद्धमा होमिएको शत्रु देशका खेलाडीलाई अमेरिकाले कस्तो आतिथ्य देला भन्ने सर्वत्र चासो छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चमा नै ‘इरान विश्वकपमा सहभागी हुन उपयुक्त नहुने’ टिप्पणी गरेका थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘इरान राष्ट्रिय फुटबल टोलीलाई विश्वकपमा स्वागत छ । तर, मलाई लाग्छ– उनीहरू आफ्नै जीवन र सुरक्षाका लागि त्यहाँ (विश्वकप) हुनु उचित छैन ।’
राज्य प्रमुख ट्रम्पकै यो अभिव्यक्तिले इरानी खेलाडीहरूमाथिको सुरक्षा चुनौती देखाउँछ । इरानी राष्ट्रिय टोलीले पनि यही बुझेको छ । यस टिमको आधिकारिक समाजिक सञ्जाल खाताबाट तत्काल ट्रम्पलाई जवाफ दिँदै लेखिएको थियो, ‘यसबाट बहिष्कृत हुन सक्ने एक मात्र देशले केवल आयोजकको उपाधि बोकेको छ तर यसमा भाग लिने टोलीहरूलाई सुरक्षा प्रदान गर्ने क्षमताको अभाव छ ।’
पहिला इरानाले अमेरिकामा नै खेलाडीहरूको ‘बेस क्याम्प’ बनाउने सोच बनाएको थियो । तर अमेरिकासँगको युद्ध चर्किएसँगै विश्वकपमा सहभागी हुने इरानी टोली अर्को आयोजक राष्ट्र मेक्सिको पुगेको छ ।


