धनुषाको सुरक्षा कमाण्डमा, एसपी रुपेश खड्कालाई जिम्मेवारी

काठमाडौं – धनुषा जिल्लाको प्रहरी नेतृत्वमा महत्वपूर्ण फेरबदल गरिएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्कालाई जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुखका रूपमा खटाएको छ। प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उनले अब धनुषा जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी प्रशासनको नेतृत्व सम्हाल्नेछन्।

धनुषाका तत्कालीन प्रहरी प्रमुख अमेन्द्र बहादुर सिंह प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएपछि रिक्त रहेको जिम्मेवारीमा खड्कालाई पठाइएको हो। संगठनभित्र कार्यक्षमता, अनुशासन र व्यावसायिक छवाका आधारमा चिनिएका खड्कालाई संवेदनशील तथा चुनौतीपूर्ण मानिने धनुषा जिल्लाको कमाण्ड सुम्पिएको प्रहरी स्रोतले जनाएको छ।

एसपी खड्का यसअघि लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए। विभिन्न जिल्लामा काम गर्दै आएका उनले अपराध अनुसन्धान, सुरक्षा व्यवस्थापन तथा प्रहरी परिचालनमा अनुभव हासिल गरेका छन्। अब उनको नेतृत्वमा धनुषामा अपराध नियन्त्रण र कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाइने अपेक्षा गरिएको छ।

सीमावर्ती जिल्ला धनुषामा पछिल्लो समय विभिन्न प्रकारका आपराधिक गतिविधि, लागूऔषध ओसारपसार, तस्करी, सामाजिक अपराध तथा सार्वजनिक सुरक्षासम्बन्धी चुनौतीहरू देखिँदै आएका छन्। यस्ता गतिविधिमाथि कडा निगरानी र प्रभावकारी कारबाही गर्दै जिल्लाको सुरक्षा अवस्थालाई थप मजबुत बनाउने जिम्मेवारी नयाँ प्रहरी नेतृत्वको प्रमुख प्राथमिकतामा रहने विश्वास गरिएको छ।

प्रहरी संगठनभित्र पनि खड्काको आगमनलाई नियमित सरुवा मात्र नभई नतिजामुखी सुरक्षा व्यवस्थापनतर्फको कदमका रूपमा हेरिएको छ। जिल्लामा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउने, अपराधीमाथि कानुनी दबाब बढाउने, अनुसन्धानलाई प्रभावकारी बनाउने तथा नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने दिशामा उनको नेतृत्वबाट ठोस परिणाम आउने अपेक्षा गरिएको छ।

नयाँ जिम्मेवारी सम्हाल्न लागेका एसपी खड्कासामु जिल्लामा शान्ति सुरक्षा कायम राख्नुका साथै अपराध नियन्त्रणमा प्रभावकारी उपस्थिति देखाउने चुनौती रहेको छ। प्रहरी प्रधान कार्यालयको निर्णयसँगै अब धनुषाको सुरक्षा कमाण्ड नयाँ नेतृत्वको हातमा पुगेको छ भने जिल्लावासीले पनि नयाँ प्रहरी प्रमुखबाट कडा कानुन कार्यान्वयन, प्रभावकारी सुरक्षा व्यवस्थापन र परिणाममुखी प्रहरी सेवाको अपेक्षा गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु