भरतपुर – प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीले सङ्गठनमा आवद्ध तीन जना पत्रकार तथा सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गरेको छ । जनपत्रकार सहिद कृष्ण सेन ‘इच्छुक’को २४औँ स्मृति दिवसको अवसर पारेर बुधबार आयोजित कार्यक्रममा ज्येष्ठ पत्रकार गोपाल परियार (जिपी गोर्खाली), महिला पत्रकार अजिता अधिकारी र युवा पत्रकार आयुष न्यौपानेलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा परियारलाई ‘इच्छुक आजीवन पत्रकारिता पुरस्कार’, अधिकारीलाई ‘प्रज्ञा पत्रकारिता पुरस्कार’ तथा न्यौपानेलाई ‘डिजिटल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो ।
प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीका अध्यक्ष रविचन्द्र अधिकारीले अग्रज पत्रकारलाई सम्मान गर्दै नयाँ पुस्ताका पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक पुरस्कार स्थापना गरिएको जानकारी दिए । उनले सङ्गठनमा सक्रिय सदस्यहरूको योगदान, सक्रियता र पत्रकारिताप्रतिको प्रतिबद्धतालाई मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको बताए ।
अध्यक्ष अधिकारीका अनुसार आगामी वर्षहरूमा पनि पुरस्कार कार्यक्रमलाई निरन्तरता दिइनेछ । पत्रकारिताको विकास, व्यावसायिकता र सक्रिय पत्रकारहरूको मनोबल उच्च राख्न यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रममा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि एवं प्रेस सेन्टर नेपालका बरिस्ठ उपाध्यक्ष सुरेश चन्द्र अधिकारी लगायत संगठनमा आवद्ध महानगर, जिल्ला, प्रदेश एवं केन्द्रीय पदाधिकारी, नेपाल कम्युनिस्ट पार्टीका नेता, विभिन्न पत्रकार सम्बद्ध संघ–सङ्गठनका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले मन्तब्य राखेका थिए । कार्यक्रममा वक्ताहरूले पुरस्कृत पत्रकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै जनपत्रकार कृष्ण सेन ‘इच्छुक’को व्यक्तित्व, संघर्ष र नेपाली पत्रकारितामा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।


