“पदले नेता बनाउँदैन, जनताको मनले नेता बनाउँछ,अहिले त्यो मन जित्दै उपमेयर लक्ष्मी महर्जन

महालक्ष्मी नगरपालिकाको राजनीतिक वृत्त अहिले एउटा नाम वरिपरि असाधारण रूपमा केन्द्रित हुन थालेको छ -लक्ष्मी महर्जन।

चुनावी नारामा सीमित हुने, पाँच वर्षपछि मात्र जनताको ढोका सम्झिने राजनीतिक संस्कारप्रति जनता लामो समयदेखि निराश बन्दै आएका थिए। तर महालक्ष्मीमा भने पछिल्लो समय एउटा फरक राजनीतिक संस्कृतिको उदय भइरहेको चर्चा तीव्र रूपमा फैलिएको छ, जसको केन्द्रमा उपमेयर लक्ष्मी महर्जन देखिएकी छन्।

स्थानीय तहको राजनीतिमा सामान्यतया मेयर केन्द्रित प्रभाव देखिने गरे पनि पछिल्लो समय महालक्ष्मीमा भने फरक दृश्य देखिन थालेको राजनीतिक विश्लेषकहरू बताउन थालेका छन्। जनताको घरदैलो, सामाजिक गतिविधि, दुःख–सुखका हरेक क्षण र नगरवासीसँगको प्रत्यक्ष सम्बन्धका कारण उपमेयर लक्ष्मी महर्जनको लोकप्रियता तीव्र रूपमा उकालो लागिरहेको चर्चा अहिले नगरका चिया पसलदेखि बैठकसम्म सुनिन थालेको छ।

लामो समयपछि नेपाली कांग्रेसबाट उपमेयर पदमा विजय हासिल गरेकी लक्ष्मी महर्जनको उदयलाई धेरैले “स्थानीय राजनीतिक मनोविज्ञान परिवर्तनको संकेत” को रूपमा लिएका थिए । किनकि जनताले अब केवल चुनावी भाषण होइन, व्यवहारिक उपस्थिति खोज्न थालेका छन्। यही परिवर्तित जनभावनालाई लक्ष्मी महर्जनले गहिरोसँग बुझेर राजनीति गरिरहेको टिप्पणी कांग्रेस वृत्तमै सुनिन थालेको छ।

बिहान सूर्योदयसँगै नगरका टोलटोल र वडा वडामा देखिने उनको सक्रियता अहिले महालक्ष्मीमा एउटा राजनीतिक ब्रान्डकै रूपमा विकसित हुँदै गएको छ। चाहे सामाजिक कार्यक्रम होस्, शोकसभा होस्, महिला समूहको भेटघाट होस् वा सामान्य नागरिकको समस्या — उपमेयर महर्जनको उपस्थिति प्रायः अनिवार्यजस्तै बन्न थालेको छ। यही कारणले अहिले स्थानीय स्तरमा एउटा चर्चा तीव्र बनेको छ ,“पद उपमेयरको भए पनि जनताको पहुँचमा सबैभन्दा अगाडि को?”

राजनीतिक रूपमा अझ चासोको विषय के बनेको छ भने, एमालेबाट निर्वाचित हरि गोविन्द श्रेष्ठ सँग सहकार्य गर्दै अघि बढिरहेकी लक्ष्मी महर्जनले आफ्नो अलग राजनीतिक प्रभाव समेत निर्माण गर्न सफल देखिएकी छन्। स्थानीय तहमा प्रायः उपमेयरको भूमिका औपचारिकतामा सीमित हुने गरेको आरोप लाग्ने बेला महालक्ष्मीमा भने समीकरण केही फरक बन्दै गएको संकेतहरू देखिन थालेका छन्।

“उहाँलाई भेट्न कार्यालय धाउनुपर्दैन, उहाँ आफैं जनताको घरआँगनसम्म पुग्नुहुन्छ।”

यही व्यवहारिक राजनीतिले अहिले उनको लोकप्रियतालाई असाधारण उचाइमा पुर्याइरहेको विश्लेषण हुन थालेको छ। किनकि राजनीतिमा भाषणले क्षणिक ताली पाउन सकिन्छ, तर जनताको मन जित्न व्यवहार, संवेदनशीलता र निरन्तर उपस्थिति चाहिन्छ। लक्ष्मी महर्जनले त्यही व्यवहारिक राजनीतिलाई आफ्नो सबैभन्दा ठूलो राजनीतिक पूँजी बनाएकी छन्। कतिपय राजनीतिक वृत्तमा त खुला रूपमा यस्तो विश्लेषण हुन थालेको छ “यदि यही जनसम्पर्क, यही सक्रियता र यही जनविश्वास निरन्तर बढिरह्यो भने भविष्यमा महालक्ष्मीको राजनीतिक केन्द्रबिन्दु बदलिन सक्छ।”

“एउटा नेतृत्व सरकारी गाडीको सिसाभित्र देखिन्छ, अर्को नेतृत्व जनताको भीडभित्र ”
स्थानीयहरूका अनुसार मेयर हरि गोविन्द श्रेष्ठ सरकारी सुविधा सहितको क्रेटा गाडी चढेर औपचारिक कार्यक्रममा व्यस्त देखिने बेला, उपमेयर लक्ष्मी महर्जन भने जनताको दुःख–सुख, सामाजिक कार्यक्रम र स्थानीय समुदायसँग प्रत्यक्ष संवादमा व्यस्त देखिने गरेकी छन्। यही दृश्यले अहिले महालक्ष्मीको राजनीतिमा नयाँ बहस जन्माएको छ।

यही कारणले अहिले कांग्रेसभित्र समेत लक्ष्मी महर्जनलाई नयाँ पुस्ताको प्रभावशाली महिला नेतृको रूपमा हेर्न थालिएको बताइन्छ। विशेषगरी महिला, युवा र स्थानीय समुदायसँग उनले बनाएको आत्मीय सम्बन्धले उनको राजनीतिक आधार विस्तार भइरहेको देखिन्छ।

उनको शैली परम्परागत शक्ति प्रदर्शनको राजनीति भन्दा बिल्कुल फरक देखिन्छ। उनी भाषणभन्दा उपस्थितिलाई महत्व दिन्छिन्, प्रचारभन्दा सम्बन्धलाई प्राथमिकता दिन्छिन्। यही कारणले धेरै स्थानीयवासीले आज उनलाई केवल उपमेयर होइन, “जनताको अभिभावक” को रूपमा चित्रण गर्न थालेका छन्।

राजनीतिक रूपमा हेर्दा लक्ष्मी महर्जनको बढ्दो लोकप्रियताले महालक्ष्मी नगरपालिकामा नयाँ शक्ति सन्तुलनको संकेत गरिरहेको आकलन हुन थालेको छ। किनकि स्थानीय राजनीतिमा अन्ततः निर्णायक कुरा पद होइन, जनताको मन हो। र अहिले त्यही मन जित्ने दौडमा लक्ष्मी महर्जन निकै अगाडि देखिन थालेकी छन्।

घरको बुहारीबाट समाजको बुहारी बनेकी उनी आज कसैको दिदी, कसैको भरोसा, कसैको प्रेरणा र धेरैका लागि आशाको प्रतीक बनेर अघि बढिरहेकी छन्। आज महालक्ष्मी नगरपालिकामा एउटा नयाँ राजनीतिक अध्यायको प्रतिनिधित्व गरिरहेकी छन् जहाँ राजनीति केवल चुनाव जित्ने माध्यम होइन, जनताको जीवनसँग जोडिने जिम्मेवारी हो।
“जनताको बीचमा रहने नेताको राजनीति कहिल्यै कमजोर हुँदैन।”विशेषगरी स्थानीय स्तरमा संगठन र जनताको सम्बन्ध बलियो बनाउन उनले खेलेको भूमिकाले उनलाई पार्टीभित्र पनि बलियो स्थान दिलाइरहेको विश्लेषण हुन थालेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु