“एसएसपी बसन्त रजौरेको कडा एक्सन : चार महिनामै करोडौंको अवैध सामान नियन्त्रण”

एटुजेड समाचार

काठमाडौं – राष्ट्रको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल मा पछिल्ला चार महिनामा देखिएको सुरक्षा कडाइ र व्यवस्थापन सुधारले नयाँ सन्देश दिएको छ।

लामो समयदेखि अव्यवस्था, कमजोर निगरानी, पहुँचवालाको प्रभाव र तस्करीको जोखिमका कारण आलोचनामा रहेको विमानस्थल अहिले भने अनुशासन र निगरानीको नयाँ चरणतर्फ अघि बढिरहेको देखिएको छ।

यस अवधिमा मात्रै तीन करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद हुनु सुरक्षा संयन्त्र अब निष्क्रिय होइन, सक्रिय र परिणाममुखी बन्दै गएको स्पष्ट संकेत हो।

विमानस्थल सुरक्षा प्रमुख एसएसपी बसन्त रजौरे को नेतृत्वमा सुरक्षा प्रणालीमा गरिएको कडाइले विमानस्थलभित्रको गतिविधिमा ठूलो परिवर्तन ल्याएको बताइएको छ। विगतमा सहजै हुने गरेका शंकास्पद गतिविधि, कमजोर निगरानी र विभिन्न सेटिङप्रति अहिले कठोर निगरानी सुरु गरिएको छ। सुरक्षा निकायको सक्रियताका कारण अवैध सामान ओसारपसार गर्ने गिरोहसमेत दबाबमा परेको बुझिएको छ।

विशेषगरी “पकेट लेस” पोसाकको प्रयोगले सुरक्षा प्रणालीभित्रै पारदर्शिता र अनुशासनको सन्देश दिएको छ। सुरक्षाकर्मीले प्रयोग गर्ने यस्तो पोसाकले सामान लुकाएर ओसारपसार गर्ने सम्भावनालाई न्यून बनाउने विश्वास गरिएको छ।

Forbes

यो कदमले सुरक्षामा खटिने निकाय स्वयं पनि जवाफदेही र पारदर्शी हुनुपर्छ भन्ने सन्देश दिएको छ। सुरक्षा सुधार केवल यात्रुमाथिको निगरानीले सम्भव हुँदैन, सुरक्षामा खटिने संरचना स्वयं अनुशासित हुनुपर्छ भन्ने अभ्यास अहिले लागू गर्न खोजिएको देखिन्छ।

त्यसैगरी “प्रायोरिटी गेट” व्यवस्थाले यात्रु सेवामा नयाँ सुधारको संकेत दिएको छ। ज्येष्ठ नागरिक, अशक्त, महिला तथा विशेष आवश्यकता भएका यात्रुहरूलाई सहज र सम्मानजनक सेवा दिने उद्देश्यले सुरु गरिएको यो प्रणालीले विमानस्थल व्यवस्थापन केवल सुरक्षा कडाइमा सीमित नरही सेवा सुधारतर्फ पनि केन्द्रित भएको देखाएको छ। अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्न आधुनिक सेवा, अनुशासन र यात्रुमैत्री व्यवहार अत्यन्त आवश्यक मानिन्छ।

एसएसपी वसन्त रजौरेले सुरक्षा संयन्त्रलाई आधुनिक, पारदर्शी र जनमैत्री बनाउने प्रतिबद्धता जनाउँदै त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल को प्रतिष्ठा उकास्न आफूहरू निरन्तर सक्रिय रहेको बताएका छन्। उनका अनुसार विमानस्थल राष्ट्रकै पहिलो ऐना भएकाले यहाँको सुरक्षा, अनुशासन र सेवा गुणस्तरमा कुनै सम्झौता गर्न नहुने स्पष्ट सन्देश दिइएको छ।

विगतमा सुन तस्करीदेखि अवैध सामान ओसारपसारसम्मका घटनाले विमानस्थलको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएका थिए। कतिपय अवस्थामा आन्तरिक मिलेमतो र पहुँचको प्रभावबारे समेत आलोचना हुने गरेको थियो।

तर पछिल्ला महिनाहरूमा लागू गरिएको निगरानी प्रणाली र सुरक्षा कडाइले अब नियम सबैका लागि समान रूपमा लागू गर्न खोजिएको संकेत दिएको छ। सुरक्षा संयन्त्रको सक्रियताले विमानस्थलभित्र हुने शंकास्पद गतिविधिमा नियन्त्रण बढेको दाबी गरिएको छ।

त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल केवल यात्रु आवतजावतको केन्द्र मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय छविको प्रतिविम्ब पनि हो। विदेशी नागरिकले नेपाल प्रवेश गर्दा सबैभन्दा पहिले यही विमानस्थल देख्ने भएकाले यहाँको व्यवस्थापनले सिंगो राष्ट्रको छवि प्रतिनिधित्व गर्छ। त्यसैले विमानस्थल सुधारलाई सामान्य प्रशासनिक प्रक्रिया नभई राष्ट्रिय प्रतिष्ठासँग जोडिएको अभियानका रूपमा हेरिएको छ।

पछिल्ला चार महिनामा देखिएको सक्रियताले कम्तीमा एउटा स्पष्ट सन्देश दिएको छ यदि इच्छाशक्ति भयो भने परिवर्तन सम्भव छ। सुरक्षा प्रणाली निष्क्रिय रहँदा तस्करी मौलाउँछ, तर निगरानी बलियो हुँदा अवैध गतिविधि नियन्त्रणमा आउँछन् भन्ने उदाहरण अहिले देखिएको छ। अब चुनौती भनेको यही सुधारलाई स्थायी बनाउनु हो। नियम प्रभावशालीका लागि फरक र सर्वसाधारणका लागि फरक हुने पुरानो प्रवृत्ति अन्त्य गर्न सके मात्रै वास्तविक परिवर्तन सम्भव हुनेछ।

यदि अहिलेको गति र कडाइ निरन्तर कायम रह्यो भने त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल केवल नेपालको प्रमुख विमानस्थल मात्र होइन, सुशासन, पारदर्शिता र अनुशासनको उदाहरणका रूपमा पनि स्थापित हुन सक्ने विश्वास गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु