चितवन – यात्रु अभावका कारण बुद्ध एयरको भरतपुर–पोखरा उडान बन्द भएको छ । बुद्ध एयरले चितवनको भरतपुर र कास्कीको पोखराबीच सञ्चालन गर्दै आएको नियमित हवाई उडान सेवा बन्द गरेको हो ।
विगत एक महिनादेखि भरतपुर–पोखरा उडान रोकिएको बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतले जानकारी दिएका छन्। उनले पोखरा र भरतपुर आउजाउ गर्ने यात्रुको संख्या अत्यन्त न्यून हुनु, हवाई भाडा बढ्नु तथा पोखरा–मुग्लिन सडकखण्ड स्तरोन्नति भई सडक यात्रा सहज बनेपछि उडान सेवा निरन्तर सञ्चालन गर्न कठिन भएको बताए ।
उनले भने, हवाई इन्धनको मुल्य बढ्यो यात्रु कम भयो सधैं खाली जहाज उडाउन सम्भव भएन,” “भरतपुर र पोखरा दुवै पर्यटकीय क्षेत्र भएकाले पर्यटकलाई लक्षित गरेर सेवा सुरु गरिएको थियो, तर अपेक्षाअनुसार यात्रु आकर्षित हुन सकेनन्।” त्यसैले नियमित उडान ब्न्द गरिएको हो ।
हाल समूहगत यात्रु वा विशेष माग आएमा भने चार्टर्ड शैलीमा उडान सञ्चालन गर्न सकिने बुद्ध उनले बताए ।
तर अहिले सडकखण्ड विस्तार र सुधार भएसँगै अधिकांश यात्रु सडकमार्ग रोज्न थालेका छन्। हाल भरतपुरबाट पोखरा निजी सवारीमा करिब साढे दुई घण्टा तथा सार्वजनिक सवारीमा करिब तीन घण्टामै पुग्न सकिने अवस्था रहेको छ।


