“प्रदिप पौडेलमाथि प्रहार गर्न खोज्नेहरूलाई प्रहरीकै जवाफ

पर्सा – पछिल्लो केही समययता इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदिप पौडेललाई असफल सावित गराउन विभिन्न कोणबाट भइरहेका प्रयास र चर्चा चलिरहेका बेला प्रहरीले गरेको अर्को ठुलो अपरेशनले भने ती सबै आरोप, आलोचना र चलखेललाई छायाँमा पारेको छ।

मध्यरातिको गोप्य अपरेशनमा प्रहरीले ५.५ ग्राम ब्राउन सुगर जस्तो देखिने लागू औषधसहित एक युवकलाई पक्राउ गरेपछि पोखरिया क्षेत्रमा फेरि एकपटक सनसनी फैलिएको छ। प्रहरीको यो कारबाहीलाई लागू औषध कारोबारीमाथिको सीधा प्रहार र अपराधी सञ्जाललाई दिइएको कडा चेतावनीका रूपमा हेरिएको छ।

२०८३ साल जेठ १० गते राति करिब ११:३० बजेको समयमा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदिप पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले पोखरिया नगरपालिका वडा नं. ०९ स्थित एक टहरामा आकस्मिक छापा मारेको थियो। लामो समयदेखि उक्त क्षेत्रमा लागू औषध कारोबार भइरहेको विशेष सूचनापछि प्रहरीले निगरानी बढाएको स्रोतले जनाएको छ।

छापामार शैलीमा पुगेको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका स्थानीय युवक विशाल राउत कम्करलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने विशाल, बिजुली राउत कम्करका अन्दाजी २० वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ। उनको साथबाट करिब ५.५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ।

प्रहरी निरीक्षक प्रदिप पौडेलले लागू औषध, तस्करी, आपराधिक गतिविधि तथा समाज बिथोल्ने गिरोहविरुद्ध कुनै सम्झौता नहुने स्पष्ट संकेत दिएका छन्। उनले लागू औषधले युवापुस्तालाई बर्बादीतर्फ धकेलिरहेको भन्दै यस्तो कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने बताएका छन्।

स्थानीयवासीका अनुसार पोखरिया क्षेत्रमा पछिल्लो समय प्रहरीले अपराध नियन्त्रणमा आक्रामक शैली अपनाएपछि केही समूह असन्तुष्ट बनेका छन्। प्रहरी निरीक्षक पौडेलमाथि सामाजिक सञ्जालदेखि विभिन्न माध्यम प्रयोग गरेर दबाब सिर्जना गर्ने र असफल देखाउने प्रयास भए पनि प्रहरीले लगातार गरिरहेका सफल कारबाहीले ती सबै प्रयास कमजोर बन्दै गएको चर्चा स्थानीयस्तरमै हुन थालेको छ।

सीमावर्ती क्षेत्र भएकाले पर्सा जिल्लाको पोखरिया लागू औषध कारोबारीहरूको ट्रान्जिट प्वाइन्ट बन्ने खतरा बढ्दै गएको सुरक्षा निकायको विश्लेषण छ। खुला सीमाको फाइदा उठाउँदै केही गिरोहले युवाहरूलाई प्रयोग गरी ब्राउन सुगर, गाँजा तथा अन्य लागू औषधको कारोबार फैलाइरहेको आशंका गरिएको छ। तर पछिल्लो समय प्रहरीले रात्री गस्ती, विशेष निगरानी र गोप्य अपरेशन तीव्र बनाएपछि कारोबारीहरू त्रसित बनेको बताइन्छ।

स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूले लागू औषधविरुद्ध प्रहरीको अभियानलाई अझ कडा बनाउनुपर्ने बताएका छन्। उनीहरूका अनुसार लागू औषधले युवापुस्ता मात्र होइन, परिवार र समाज नै तहसनहस बनाइरहेको छ। चोरी, झैझगडा, हिंसा, लुटपाट र अन्य आपराधिक गतिविधिको मुख्य कारणमध्ये लागू औषध पनि बन्दै गएको भन्दै समयमै नियन्त्रण आवश्यक रहेको उनीहरूको भनाइ छ। प्रहरीले पक्राउ परेका विशाल राउत कम्करलाई नियन्त्रणमा राखी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। घटनामा अन्य व्यक्तिहरूको संलग्नता रहेको हुन सक्ने आशंकामा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

पछिल्लो समय पोखरियामा भइरहेको लगातारको प्रहरी सक्रियताले अपराधी समूहभित्र त्रास सिर्जना गरेको बताइन्छ। प्रहरी निरीक्षक प्रदिप पौडेल नेतृत्वको टोलीले लागू औषध नियन्त्रणदेखि शंकास्पद गतिविधिमाथिको निगरानीसम्मलाई तीव्र बनाएको छ। पोखरियामा भएको यो मध्यरातिको अपरेशनलाई धेरैले “अपराधी गिरोहलाई प्रहरीको खुला चुनौती” का रूपमा व्याख्या गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु