मन्त्री फेरिए तर हेटौँडा कपडा उद्योग चलेन, निरीक्षण र प्रतिवद्धतामै सिमित

हेटौँडा – वर्षौँदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने विषय फेरि चर्चामा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव ले उद्योगको स्थलगत निरीक्षण गर्दै सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएकी छन् ।

मन्त्री यादवले उद्योग पुनर्जीवनका लागि सरकार गम्भीर रहेको दाबी गरेपनि स्थानीयवासी भने सरकारको प्रतिबद्धताप्रति विश्वस्त देखिएका छैनन्। उनीहरूको भनाइमा हेटौँडा कपडा उद्योग वर्षौँदेखि राजनीतिक भाषण, निरीक्षण र प्रचारको विषय मात्रै बनेको छ ।

स्थानीयका अनुसार हरेक सरकार परिवर्तनसँगै मन्त्रीहरू उद्योग अवलोकन गर्न आउने, आश्वासन दिने र फर्किने क्रम दोहोरिँदै आएको छ । ‘मन्त्री आउँछन्, फोटो खिच्छन्, उद्योग चलाउने घोषणा गर्छन्, तर केही समयपछि सबै कुरा सेलाउँछ,’ एक स्थानीयले गुनासो गरे।

पछिल्ला वर्षहरूमा मात्रै पटक–पटक उद्योगको निरीक्षण गरिएको छ । २०७६ माघ ११ गते तत्कालीन उद्योग मन्त्री लेखराज भट्टले उद्योगको अनुगमन गर्दै सञ्चालनको मोडालिटी तयार पारिने बताएका थिए। त्यसपछि २०७९ साउन १२ गते तत्कालीन उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडुले निजी क्षेत्रसँग सहकार्य गरेर उद्योग सञ्चालन गर्ने योजना सार्वजनिक गरेका थिए।

यस्तै २०८१ भदौ १ गते उद्योगमन्त्री दामोदर भण्डारी सहितको टोलीले उद्योगको निरीक्षण गर्दै सञ्चालन प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गरेको थियो। तर ती सबै घोषणापछि पनि उद्योग अझै सञ्चालनमा आउन सकेको छैन।

Forbes

२०४६ सालपछि राजनीतिक हस्तक्षेप, अव्यवस्थित नियुक्ति, बन्द–हडताल र निरन्तर आर्थिक घाटाका कारण उद्योग धराशायी बन्दै गएको थियो। अन्ततः १८ माघ २०५७ मा उद्योग बन्द गर्ने निर्णय गरिएको थियो।

कुनै समय देशकै प्रमुख सरकारी उद्योगमध्ये गनिने हेटौँडा कपडा उद्योगमा करिब १२ सय श्रमिकले प्रत्यक्ष रोजगारी पाएका थिए। २०३५ सालदेखि उत्पादन सुरु गरेको उद्योगले सुती धागो, कोरा, रंगीन, बुट्टेदार तथा सेतो कपडा उत्पादन गर्नुका साथै नेपाली सेनाका लागि आवश्यक कपडा समेत उत्पादन गर्दै आएको थियो।

हाल उद्योगका भवन, मेसिन र पूर्वाधार जीर्ण अवस्थामा पुगेका छन्। उद्योग पुनः सञ्चालन भए मकवानपुरसहित आसपासका जिल्लामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। तर स्थानीयको प्रश्न अझै उस्तै छ, ‘सरकारले अब पनि निरीक्षण र भाषणमै सीमित रहने हो, कि साँच्चै उद्योगको चिम्नीबाट धुवाँ निकाल्ने हो ?’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु