काठमाडौं – राजधानीको बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, सडक अनुशासनको चुनौती तथा दैनिक ट्राफिक जामलाई व्यवस्थापन गर्दै नागरिकलाई सुरक्षित, सहज र भरपर्दो यात्रा अनुभव दिलाउन उल्लेखनीय भूमिका निर्वाह गरेका सुनिल जंग शाह लाई “२०८३ साल वैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी” (Traffic Police of the Month) सम्मान प्रदान गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मा कार्यरत प्रहरी नायव उपरीक्षक शाहले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशन तथा संगठनले अवलम्बन गरेको आचारसंहिताको पूर्ण पालना गर्दै उच्च मनोबल, साहस, व्यवसायिक दक्षता, लगनशीलता र कर्तव्यनिष्ठाका साथ ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गरेको मूल्यांकनपछि उक्त सम्मान प्रदान गरिएको हो।
उपत्यकामा दिनप्रतिदिन बढ्दो सवारी साधनको चापसँगै ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा प्रहरी नायव उपरीक्षक शाहले आफ्नो नेतृत्व क्षमता, कार्यकुशलता तथा जिम्मेवारीप्रतिको समर्पणमार्फत ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
उनले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ लागू गर्नुका साथै सडक अनुशासन कायम गराउने, सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रण गर्ने, ट्राफिक जाम व्यवस्थापनलाई चुस्त बनाउने तथा सर्वसाधारणलाई छिटो, सहज र गुणस्तरीय प्रहरी सेवा उपलब्ध गराउने कार्यमा उत्कृष्ट प्रदर्शन गरेका छन्।
त्यसैगरी ट्राफिक सचेतना अभिवृद्धि, सडक सुरक्षा प्रवर्द्धन तथा नागरिकमा ट्राफिक नियमप्रति जिम्मेवारीबोध गराउने उद्देश्यले सञ्चालन गरिएका विभिन्न जनचेतनामूलक कार्यक्रम, विद्यालय तथा समुदाय केन्द्रित अभियान, सार्वजनिक सूचना प्रवाह तथा सडक सुरक्षासम्बन्धी क्रियाकलापमा समेत उनको सक्रिय भूमिका रहेको कार्यालयले जनाएको छ।
प्रहरी संगठनभित्र अनुशासन, पारदर्शिता र जवाफदेहितालाई उच्च प्राथमिकतामा राख्दै आफूलाई प्रदान गरिएको जिम्मेवारी त्रुटिरहित ढंगबाट सफलतापूर्वक सम्पन्न गरेको, मातहतका प्रहरी कर्मचारीलाई प्रेरित गर्दै परिणाममुखी कार्यसम्पादनमा केन्द्रित गराएको तथा संगठनको गरिमा अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको मूल्यांकनपछि उनलाई उक्त सम्मान प्रदान गरिएको बताइएको छ।
ट्राफिक व्यवस्थापनलाई केवल नियम कार्यान्वयनको विषयमा सीमित नराखी नागरिकको सुरक्षा, समयको बचत, सार्वजनिक विश्वास अभिवृद्धि तथा सुरक्षित सडक संस्कृतिको निर्माणसँग जोडेर कार्य गर्ने शैलीका कारण प्रहरी नायव उपरीक्षक शाह नागरिकमाझ समेत लोकप्रिय बन्दै गएको बताइन्छ।
यस सम्मानले संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई थप हौसला, प्रेरणा र जिम्मेवारीबोध गराउने विश्वास गरिएको छ। साथै नागरिक सुरक्षाप्रति समर्पित रही इमान्दार, अनुशासित र व्यवसायिक ढंगबाट कार्य गर्ने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन यस्ता सम्मानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


