हुम्लाको नेप्का गाउँमा मध्यराति बाढीपहिरो, विद्यालय र गोठ बगायो

एटुजेड समाचार

हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ। असिना–पानीसहित आएको बाढीले विद्यालय भवन, स्थानीयका गोठ तथा खेतीयोग्य जमिन बगाएको जनाइएको छ।

स्थानीयका अनुसार बाढीले डाँफे आधारभूत विद्यालय पूर्ण रूपमा बगाएको छ। साथै गोठहरू पुरिँदा पशुचौपायामा पनि क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार ६० वटा भेडा र एक वटा बाख्रा मरेका छन्।

रातिको समयमा घटना भएकाले क्षतिको पूर्ण विवरण अझै आउन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। स्थानीयबाट जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रशासनले जनाएको छ।

नेप्का गाउँ दुर्गम क्षेत्रमा पर्ने भएकाले घटनास्थल पुग्न कठिनाइ भइरहेको छ। गाउँपालिकाको केन्द्रसम्म पुग्न जोखिमपूर्ण बाटो हुँदै लामो समय पैदल हिँड्नुपर्ने अवस्था रहेको बताइएको छ। प्रहरी टोलीलाई घटनास्थल पुग्न करिब ६ देखि ७ घण्टा लाग्ने जनाइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु