चितवनमा आजबाट एसपी रामेश्वर पौडेलको औपचारिक कमाण्ड सुरु

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा आजबाट प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले औपचारिक रूपमा कमाण्ड सम्हाल्ने  भएका छन् । कडा कार्यशैली, अनुशासनमा शून्य सम्झौता र अपराध नियन्त्रणमा सक्रिय भूमिकाका कारण परिचित पौडेलको चितवन आगमनसँगै सुरक्षा व्यवस्थामा नयाँ अपेक्षा गरिएको छ।

प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार चितवन सरुवा भएका एसपी पौडेललाई संगठनभित्र “एक्सनमा विश्वास गर्ने अधिकृत” का रूपमा चिनिन्छ। उनी जिम्मेवारी सम्हाल्नुअघि नै जिल्लाको सुरक्षा अवस्था, सक्रिय आपराधिक समूह, लागूऔषध कारोबार, तस्करी तथा गुण्डागर्दीसम्बन्धी विवरण संकलन गरिएको स्रोतले जनाएको छ।

पछिल्लो समय चितवनमा लागूऔषध कारोबार, चोरी तथा आर्थिक अपराधका घटनामा वृद्धि भएपछि सुरक्षा निकायमाथि प्रभावकारी नियन्त्रणको दबाब बढिरहेको थियो। यस्तो अवस्थामा एसपी पौडेलको आगमनलाई सुरक्षा व्यवस्थामा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

सुरक्षा स्रोतका अनुसार उनले जिम्मेवारी सम्हालेसँगै प्रहरी संगठनभित्र हुने ढिलासुस्ती, कमजोर कार्यसम्पादन तथा अनुशासनहीन गतिविधिमाथि पनि कडा निगरानी गर्ने तयारी गरेका छन्। प्रहरी वृत्तमा “काम नगर्ने, सूचना चुहाउने र शक्तिको आडमा चल्ने प्रवृत्तिविरुद्ध कडा कदम चालिने” चर्चा सुरु भएको छ।

प्रहरी निकट स्रोतका अनुसार एसपी पौडेलले पहिलो चरणमै लागूऔषध कारोबारी, फरार अभियुक्त, गुण्डागर्दीमा संलग्न समूह तथा अवैध गतिविधिमा सक्रिय गिरोहहरूको सूची माग गरिसकेका छन्। चितवनलाई अपराधीको सुरक्षित थलो बन्न नदिने रणनीतिसहित उनी अघि बढ्ने बताइएको छ।

Forbes

यता स्थानीयवासी, व्यवसायी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूले नयाँ नेतृत्वबाट शान्ति सुरक्षा थप मजबुत हुने अपेक्षा गरेका छन्। अपराध नियन्त्रण र सुरक्षा व्यवस्थापनमा प्रभावकारी कदम चाल्न लामो समयदेखि माग हुँदै आएको थियो।

एसपी पौडेलको आगमनसँगै अब चितवन प्रहरीको कार्यशैलीमा व्यापक परिवर्तन आउने अनुमान गरिएको छ। प्रहरी वृत्तमा अहिले एउटै चर्चा छ— “अब चितवनमा अपराध गरेर उम्किन सजिलो छैन।”

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु