पर्सा – पर्सा जिल्लाको सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी गतिविधिले अहिले सुरक्षा निकायको विश्वसनीयतामाथि नै प्रश्न खडा गरेको छ। सीमामा खटिएको सशस्त्र प्रहरी बल दिनको समयमा सर्वसाधारणमाथि कडाइ गर्ने, सवारी रोक्ने, चेकजाँचका नाममा दुःख दिने तर राति पर्दा तस्करलाई खुला छुट दिने गरेको आरोप स्थानीय तहमा व्यापक रूपमा उठ्न थालेको छ।
विशेषगरी सिर्सिया नाका, खाल्वाटोला र रामघाटवा क्षेत्र अहिले तस्करीको मुख्य ‘ट्रान्जिट रुट’ बनेको स्थानीयको दाबी छ। रातिको समयमा मोटरसाइकल, साइकल, टेम्पो र साना मालवाहक सवारीमार्फत कपडा, किराना, इलेक्ट्रोनिक्स, कस्मेटिक्स लगायतका सामान निर्बाध रूपमा नेपाल भित्रिने गरेको स्थानीय बताउँछन्।
सबैभन्दा गम्भीर प्रश्न के उठिरहेको छ भने— सुरक्षा पोस्टकै वरिपरिबाट अवैध सामान ओसारपसार भइरहँदा पनि किन कारबाही हुँदैन ? किन रातभरि सक्रिय हुने समूहहरू सजिलै सीमा पार गर्छन् ? र किन सुरक्षाकर्मीको उपस्थिति हुँदाहुँदै पनि तस्करी रोकिँदैन ?
स्थानीयका अनुसार सीमा क्षेत्रमा अहिले यस्तो अवस्था बनेको छ जहाँ दिनमा सामान्य नागरिकलाई रोक्ने, कागजपत्र माग्ने र अनावश्यक हैरानी दिने काम हुन्छ, तर राति तस्करहरू निर्धक्क रूपमा सक्रिय हुन्छन्। “दिनमा कानुन देखाइन्छ, राति सेटिङ चलाइन्छ,” एक स्थानीयले आक्रोश पोख्दै भने।
सीमावर्ती क्षेत्रका बासिन्दाहरूका अनुसार राति १० बजेपछि सीमा क्षेत्रमा अवैध गतिविधि झन् बढ्ने गरेको छ। विभिन्न समूहले निश्चित रुट प्रयोग गरेर सामान भित्र्याउने गरेका छन्। तर सुरक्षा निकाय भने या त मौन बस्ने, या आँखै अगाडि गतिविधि हुँदा पनि बेवास्ता गर्ने गरेको आरोप छ।
स्थानीय स्रोतका अनुसार केही समूहले सुरक्षा निकायसँग ‘सेटिङ’ मिलाएर तस्करी सञ्चालन गरिरहेको चर्चा सीमा क्षेत्रमा खुलेआम हुन थालेको छ। यही कारण सीमामा हुने अवैध कारोबार रोक्न प्रभावकारी कारबाही हुन नसकेको आरोप उठेको हो।
चिन्ताको विषय के छ भने रातभरि अवैध सामान ओसारपसार भइरहँदा पनि बरामदका घटना न्यून छन्। न ठूलो परिमाणमा सामान पक्राउ पर्छ, न त संगठित रूपमा अनुसन्धान अघि बढाइएको देखिन्छ। यसले सुरक्षा संयन्त्रकै भूमिकामाथि शंका झन् बलियो बनाएको स्थानीयको भनाइ छ।
सीमा सुरक्षाको जिम्मेवारी सम्हालिरहेका एसपी मोहन बहादुर क्षेत्री को नेतृत्वमाथि अहिले स्थानीय तहमा गम्भीर प्रश्न उठ्न थालेको छ। स्थानीय सरोकारवालाहरूका अनुसार सीमा क्षेत्रमा भइरहेको भनिएको तस्करी गतिविधिबारे नेतृत्व तह जानकार नहुने सम्भावना कम छ। “यदि कमाण्ड कडा हुन्थ्यो भने यति खुलेआम अवैध कारोबार सम्भव हुने थिएन,” एक स्थानीय व्यवसायीले बताए।
कतिपयले त सीमा क्षेत्रमा सक्रिय समूहहरूलाई संरक्षण मिलिरहेको आशंका समेत व्यक्त गरेका छन्। यद्यपि, यस्ता आरोपहरूको स्वतन्त्र पुष्टि भने भइसकेको छैन।
स्थानीयवासीको आरोप छ— सामान्य नागरिकले सानो सामान ल्याउँदा पनि अनेक प्रश्न, चेकजाँच र रोकतोक हुन्छ। तर ठूलो परिमाणमा हुने अवैध कारोबार भने सजिलै सञ्चालन भइरहेको देखिन्छ।
“गरिब नागरिकलाई समातेर फोटो खिचिन्छ, तर ठूलो तस्करीमा संलग्न समूहहरूलाई कसैले छोएको देखिँदैन,” एक युवाले भने। सीमा क्षेत्रमा अहिले सुरक्षा संयन्त्रप्रति अविश्वास बढ्दो छ। स्थानीयहरू भन्छन्— यदि सुरक्षाकर्मी नै निष्पक्ष नहुने हो भने सीमा क्षेत्र कसरी सुरक्षित रहन्छ ?
स्थानीय सरोकारवालाहरूले अहिले गृह प्रशासन, जिल्ला प्रशासन कार्यालय तथा उच्च सुरक्षा निकायसँग निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरूको भनाइ छ यदि सीमामा भइरहेको भनिएको अवैध कारोबार तत्काल नियन्त्रण गरिएन भने पर्सा तस्करहरूको सुरक्षित अखडा बन्ने खतरा बढ्नेछ।


