पर्सा – पर्सामा बढ्दो दुर्घटनाबीच जिल्ला ट्राफिक प्रहरी कार्यालयको ‘देखावटी अभियान’ माथि चौतर्फी आक्रोश, प्रमुख युबराज कट्वाल को भूमिकामाथि गम्भीर प्रश्न तेर्साएका छन् ।
स्थानीयले पर्सा जिल्लामा सडक दुर्घटनाले भयावह रूप लिइरहेका बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले साइकलमा स्टिकर टाँस्ने अभियानलाई प्राथमिकता दिएको विषय अहिले तीव्र विवादको केन्द्र बनेको छ।
सर्वसाधारण, व्यवसायी, युवा र नागरिक समाजले यो अभियानलाई “जनताको आँखामा छारो हाल्ने प्रचारमुखी नाटक” भन्दै कडा आलोचना गरेका छन्।
दैनिकजसो दुर्घटनामा मानिस घाइते भइरहेका छन्, कतिपयले ज्यान गुमाइरहेका छन्, सडकमा ट्राफिक अराजकता चरम सीमामा पुगेको छ, अटो चालकलाई मन लाग्दी छ जता मन लाग्यो त्यतै पार्किङ्ग गरेर गाडी को टिकट काटे भयो तर जिम्मेवार निकाय भने वास्तविक समस्या समाधान गर्नुको सट्टा साइकलमा स्टिकर टाँस्दै फोटो खिच्न व्यस्त रहेको भन्दै जनस्तरबाट आक्रोश विस्फोट भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युबराज कट्वाल को कार्यशैलीमाथि अहिले खुला रूपमा प्रश्न उठ्न थालेको छ। स्थानीयको प्रश्न स्पष्ट छ—
“जब सडकमा नियम लागू हुँदैन, मापसे चालक खुलेआम सवारी चलाउँछन्, ट्रक र बस तीव्र गतिमा हुइँकिन्छन्, तब दुर्घटना रोक्ने उपाय स्टिकर मात्रै कसरी हुन सक्छ ?”
पर्साको सडक : दुर्घटनाको खुला मैदान बन्दै गएको पनि चर्चा चुलिएको छ वीरगञ्ज बाईपास सडकखण्डदेखि बजार क्षेत्रसम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको स्थानीय बताउँछन्। जथाभावी ओभरटेक, तीव्र गति, अव्यवस्थित पार्किङ, सवारीको मनोमानी र कमजोर निगरानीका कारण सडक असुरक्षित बन्दै गएको छ।
मापसे गरेर सवारी चलाउनेको संख्या बढ्दो,ट्राफिक नियम उल्लंघनमा प्रभावकारी कारबाही नदेखिएको, ई–रिक्सा र मोटरसाइकलको अराजक सञ्चालन,विद्यालय र बजार क्षेत्रमा जोखिमपूर्ण ट्राफिक अवस्था,रातिको समयमा लगभग शून्य निगरानी,जस्ता समस्याले पर्साको ट्राफिक अवस्था भयावह बनेको नागरिकको गुनासो छ।
तर यस्तो गम्भीर परिस्थितिमा पनि ट्राफिक प्रशासनले “साइकलमा स्टिकर टाँस्ने कार्यक्रम” लाई उपलब्धि झैँ प्रचार गर्नुले प्रशासनको प्राथमिकता नै गलत भएको आरोप लागिरहेको छ।
“स्टिकरले होइन, कानुनले दुर्घटना घट्छ”
स्थानीय बुद्धिजीवी र सामाजिक अभियन्ताहरूको भनाइ छ “यदि स्टिकर टाँस्दैमा दुर्घटना रोकिन्थ्यो भने संसारभर ट्राफिक नियम, ट्राफिक लाइट, स्पिड क्यामेरा, हेल्मेट र सिटबेल्टको आवश्यकता नै पर्दैनथ्यो।”
उनीहरूका अनुसार दुर्घटना न्यूनीकरणका लागि आवश्यक कुरा भनेको “कठोर ट्राफिक अनुगमन,नियम उल्लंघनमा तुरुन्त कारबाही,गति नियन्त्रण,मापसे विरुद्ध कडा अभियान,सडक अनुशासनको प्रभावकारी कार्यान्वयन हो।तर पर्सामा यी विषय प्रभावकारी रूपमा लागू नभएको भन्दै जनताले असन्तुष्टि व्यक्त गरेका छन्।
“फोटोसेसन धेरै, परिणाम शून्य”
स्थानीय युवा नेता सन्तोष पटेल भन्छन् “दुर्घटना घटेको अनुभूति जनताले गरेका छैनन्। तर हरेक हप्ता नयाँ कार्यक्रम, फोटो र प्रचार भने देखिन्छ। यसले जनताको सुरक्षा होइन, प्रचारको राजनीति भइरहेको संकेत गर्छ।”
कतिपय नागरिकले त अझ कडा शब्दमा टिप्पणी गरेका छन्
“सडकमा धेरै जसो रगत बगिरहेको छ, तर ट्राफिक कार्यालय स्टिकर टाँसेर सफलता खोज्दैछ। यो संवेदनहीनता होइन भने के हो ?”
ट्राफिक प्रशासनमाथि जनताको प्रश्न यो हेर्नुस्
१.पर्सावासीले अहिले खुला रूपमा सोध्न थालेका छन् किन तीव्र गति नियन्त्रण प्रभावकारी छैन ?
२.किन मापसे चालकहरू सजिलै सडकमा भेटिन्छन् ?
३.किन बजार क्षेत्रमा ट्राफिक अनुशासन कायम हुन सकेको छैन ?
४.किन दुर्घटना–प्रवण क्षेत्रमा नियमित निगरानी हुँदैन किन देखावटी अभियानलाई उपलब्धि जस्तो प्रचार गरिन्छ ?
स्थानीयको आरोप छ “जनताको ज्यान जोगाउने जिम्मेवारीभन्दा प्रचारमुखी गतिविधिमा बढी ध्यान दिइँदा दुर्घटनाको जोखिम झन् बढिरहेको छ।” “अब प्रचार होइन, परिणाम चाहियो”
नागरिक समाज, युवा र व्यवसायीहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई तत्काल प्रभावकारी कदम चाल्न चेतावनी दिएका छन्।
उनीहरूको माग छ:
तीव्र गति नियन्त्रणमा कडा कारबाही,मापसे चालकविरुद्ध शून्य सहनशीलता नीति,बजार र विद्यालय क्षेत्रमा नियमित ट्राफिक गस्ती,अव्यवस्थित पार्किङ हटाउने अभियान,ट्राफिक नियम उल्लंघन गर्ने जो–कोहीमाथि निष्पक्ष कारबाही।
पर्सावासीहरूको निष्कर्ष स्पष्ट छ “जनताको ज्यानमाथिको जोखिम स्टिकरले ढाकिँदैन। दुर्घटना रोक्न प्रचार होइन, कठोर कार्यान्वयन चाहिन्छ।”


