काठमाडौं – मधेश प्रदेश वर्षौंदेखि अपराध, तस्करी, राजनीतिक संरक्षणमा चल्ने अवैध धन्दा, सीमा आतंक, लागूऔषध कारोबार, गुण्डागर्दी र कमजोर सुरक्षा व्यवस्थाका कारण देशकै सबैभन्दा संवेदनशील क्षेत्रका रूपमा चिनिन्थ्यो। खुला सीमाको फाइदा उठाउँदै अपराधी गिरोहहरू खुलेआम सक्रिय थिए।
राति राजमार्ग असुरक्षित मानिन्थ्यो, सीमावर्ती क्षेत्र तस्करहरूको अखडा बनेको थियो, र सर्वसाधारणमा प्रहरीप्रतिको विश्वास कमजोर बन्दै गएको थियो। तर पछिल्लो ८ महिनामा मधेश प्रदेशको सुरक्षा चित्र अचानक बदलिन थालेको छ। यसको केन्द्रमा छन् मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक गोबिन्द थपलिया।
डीआईजी थपलियाले मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालेपछि सबैभन्दा पहिले संगठनभित्रै कडा सन्देश दिएका थिए— “शान्ति सुरक्षा र कानून कार्यान्वयनमा कुनै कम्प्रमाइज हुँदैन।” यही एउटा लाइन अहिले मधेश प्रहरीभित्र ‘कमान्ड मन्त्र’ जस्तै बनेको चर्चा छ। उनले मातहतका प्रहरी कर्मचारीलाई स्पष्ट निर्देशन दिएका थिए कि अपराधी, तस्कर वा राजनीतिक दबाब जसुकैबाट आए पनि कानूनभन्दा माथि कोही छैन। यही निर्देशनपछि मधेश प्रदेश प्रहरीको कार्यशैलीमा व्यापक परिवर्तन देखिन थालेको बताइन्छ।
पछिल्लो ८ महिनामा मधेश प्रदेशका ८ वटै जिल्लामा अपराध नियन्त्रणका अपरेशनहरू आक्रामक रूपमा सञ्चालन भए। फरार अभियुक्त पक्राउदेखि लागूऔषध कारोबारीमाथि विशेष अपरेशन, सीमा क्षेत्रमा कडा निगरानीदेखि तस्करी नियन्त्रणसम्म प्रहरीको सक्रियता एकाएक बढ्यो। पर्सा, बारा, रौतहट, सिरहा, सप्तरी, धनुषा, महोत्तरी र सर्लाहीमा लामो समयदेखि सक्रिय अपराधी गिरोहहरू अहिले प्रहरीको निरन्तर दबाबमा परेको सुरक्षा अधिकारीहरू बताउँछन्।
प्रहरी स्रोतहरूका अनुसार डीआईजी थपलियाले जिम्मेवारी सम्हालेपछि रातको समय सीमावर्ती क्षेत्रमा अचानक चेकिङ, राजमार्ग सुरक्षा गस्ती, सादा पोशाकमा प्रहरी परिचालन तथा संवेदनशील क्षेत्रमा निगरानीलाई तीव्र बनाएका थिए। लागूऔषध, अवैध हतियार, चोरीका मोटरसाइकल, सुन तस्करी, कपडा तस्करीदेखि मानव तस्करीसम्मका नेटवर्कमाथि लगातार अपरेशन चलाइएपछि धेरै गिरोहको आर्थिक जालो कमजोर बनेको चर्चा छ।
तर डीआईजी थपलियाको सबैभन्दा फरक र चर्चित पक्ष भनेको उनको “फिल्ड कमाण्ड” शैली बनेको छ। प्रहरी संगठनभित्र धेरै उच्च अधिकारीहरू कार्यालयमै सीमित रहने आरोप लाग्ने बेला थपलिया भने रातदिन फिल्डमा देखिन थाले। उनी आफैं सीमा नाकामा पुग्ने, रातको समयमा राजमार्गमा गस्ती निरीक्षण गर्ने, चेकपोस्टमा अचानक पुग्ने, सिपाहीसँगै उभिएर ड्युटी गर्ने तथा संवेदनशील क्षेत्रमा प्रत्यक्ष कमाण्ड गर्ने गरेका कारण अहिले मधेश प्रहरीभित्र उनको छुट्टै छवि बनेको बताइन्छ।
कतिपय प्रहरी जवानहरू भन्छन्— “पहिलोपटक उच्च अधिकारी आफैं राति फिल्डमा आएको देख्यौं।” प्रहरी वृत्तमा अहिले एउटा चर्चा निकै चल्ने गरेको छ— “डीआईजी थपलिया कार्यालयको एसीभन्दा फिल्डको धुलो मन पराउने कमाण्डर हुन्।” धेरैपटक उनी राति अबेरसम्म सीमा क्षेत्रमा बसेर सुरक्षाकर्मीलाई निर्देशन दिने, चेकिङमा सहभागी हुने तथा अचानक निरीक्षण गर्ने गरेका कारण मातहत प्रहरीमा पनि दबाब र जिम्मेवारी दुवै बढेको बताइन्छ।
डीआईजी थपलियाले मधेश प्रदेशका ८ वटै जिल्लाका एसपीहरूलाई समेत “नो कम्प्रमाइज” नीति अन्तर्गत काम गर्न कडा निर्देशन दिएका थिए। अपराध नियन्त्रण, तस्करी रोकथाम, महिला हिंसा, गुण्डागर्दी, लागूऔषध कारोबार र सीमा अपराध नियन्त्रणमा कुनै बाह्य दबाब नस्वीकार्न उनले स्पष्ट सन्देश दिएका थिए। “काम गर्ने प्रहरीलाई प्रदेश कार्यालय साथमा हुन्छ, तर अपराधीसँग सम्झौता गर्ने छुट कसैलाई छैन” भन्ने उनको निर्देशन अहिले संगठनभित्र चर्चित बनेको छ।
एसपीहरूसँग नियमित समीक्षा बैठक, कार्यसम्पादन मूल्यांकन, आकस्मिक निरीक्षण तथा कमजोर प्रदर्शन गर्ने इकाइलाई चेतावनी दिने शैलीले जिल्लास्तरमा प्रहरीको सक्रियता निकै बढेको बताइन्छ। कतिपय एसपीहरूलाई फिल्डमा बढी सक्रिय हुन निर्देशन दिइएको थियो भने निष्क्रिय देखिएका इकाइलाई तत्काल सुधार गर्न चेतावनी दिइएको स्रोतको दाबी छ। यही कारण पछिल्लो समय ८ वटै जिल्लामा प्रहरीको उपस्थिति आक्रामक रूपमा बढेको विश्लेषण गरिएको छ।
तर यही कडा शैलीका कारण डीआईजी थपलिया विवाद र दबाबबाट भने टाढा रहन सकेनन्। प्रहरी निकट स्रोतहरूका अनुसार केही समय उनलाई कमजोर बनाउन, विवादमा तान्न र कमाण्ड असफल देखाउन विभिन्न शक्तिकेन्द्र सक्रिय भएका थिए। राजनीतिक पहुँच भएका अवैध धन्दा सञ्चालक, तस्करी नेटवर्क तथा संगठनभित्रकै असन्तुष्ट समूहले उनको विरुद्ध वातावरण बनाउने प्रयास गरेको चर्चा सुरक्षा वृत्तमा खुलेर हुन थालेको थियो।
कतिपय अवस्थामा गलत सूचना फैलाउने, सामाजिक सञ्जालमार्फत बदनाम गराउने, निर्णयमाथि प्रश्न उठाउने तथा संगठनभित्रै असन्तोष सिर्जना गर्ने प्रयास भएको प्रहरी स्रोतहरूको दाबी छ। तर ती सबै दबाब र विवादका बीच पनि डीआईजी थपलिया पछि नहटी अझ कडा रूपमा कमाण्डमा उभिएका कारण अहिले उनी “नझुक्ने कमाण्डर” का रूपमा चिनिन थालेका छन्।
उनको नेतृत्वमा प्रहरी संगठनभित्र अनुशासनमा पनि व्यापक कडाइ गरिएको छ। ड्युटीमा लापरबाही गर्ने, सेवाग्राहीसँग दुर्व्यवहार गर्ने, भ्रष्टाचारमा संलग्न हुने तथा निष्क्रिय बस्ने प्रहरी कर्मचारीमाथि निगरानी बढाइएपछि संगठनभित्रै हलचल मच्चिएको बताइन्छ। प्रहरी वृत्तदेखि जिल्ला कार्यालयसम्म आकस्मिक अनुगमन बढाइएपछि धेरै प्रहरी कर्मचारी अहिले सतर्क भएर काम गर्न बाध्य भएको चर्चा छ।
त्यसैगरी ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण, राजमार्ग सुरक्षा तथा सार्वजनिक सवारी निगरानीमा समेत कडाइ गरिएको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि कारबाही, रात्री सुरक्षा गस्ती तथा बजार क्षेत्रमा प्रहरी परिचालन बढाइएपछि सर्वसाधारणले पनि सुरक्षा अनुभूति गर्न थालेको प्रतिक्रिया दिन थालेका छन्।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई पनि जोड दिएका छ्न् ।


