सुर्खेत – नेपाली काँग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा रहेको बताएका छन् ।
विशेष महाधिवेशनको नेतृत्वविरुद्व निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएका खड्काले सर्वोच्चको फैसलापछि पनि पार्टी बृहत एकताका लागि सबै प्रदेशमा भेलागरि कार्यकर्ताको सुझाव लिएर अगाडि बढ्ने बताए ।
भेला उद्घाटन गर्दै खड्काले विशेष महाधिबेशनका कारण गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले हार व्यहोरेको बताए ।
‘इतिहासमै नेपाली काँग्रेस पहिलो पटक लज्जास्पद हार व्यहोर्नुपरेको छ’ उनले भने, ‘चुनावको मुखमा गरिएको विशेष महाधिवेशनले पार्टीलाई ऊर्जा दिन सकेन ।’ हार व्यहोरे पनि नेतृत्व अझै पार्टी एकताको पक्षमा गम्भीर नभएको खड्काको आरोप छ ।
पार्टी एकताको पहल नेतृत्वबाट हुनुपर्नेमा नेतृत्व विभाजनतिर अग्रसर भएको उनको भनाइ छ । ‘नेतृत्व एकताको भन्दापनि टिम विभाजनतर्फ लागेको देखियो’ उनले भने, ‘यसले पार्टी एकतालाई बल पुर्याउँदैन ।’ नेताहरुलाई घेराबन्दीमा पार्ने र बिशेषको नाममा पार्टी कब्जा गर्न उद्दत रहेको उनले बताए । क्रियाशील अध्यावधिकको नाममा सदस्यहरुलाई पार्टीबाट लखेट्न खोजिएको उनको आरोप छ ।
डिजिटलाइजेसन र आधुनिकताको नाममा पार्टीमा लामो समय योगदान दिएका नेता कार्यकर्तालाई अपमानजनक रुपमा लखेट्न खोजिएको उनले बताए ।
नेपाली काँग्रेस कर्णाली प्रदेश समितिले आयोजना गरेको विचार गोष्ठि नाम दिएको भेलामा देउवा समूहका नेता कार्यकर्ताहरुको सहभागिता छ ।
संस्थापन समूहले भेलालाई अघोषित बहिष्कार गरेका छन् । देउवा समूहका मानिने प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशसभा सदस्यहरु र निवर्तमान केन्द्रीय सदस्यहरु सहभागि भएका छन् । निवर्तमान कार्यबहाक सभापति खड्काले कार्यक्रम उद्घाटन गरेका हुन् ।
पार्टीको कार्यक्रम सञ्चालन कार्यविधि अनुसार नै मञ्चमा प्रमुख अथिति खड्का, नेपाली कर्णाली प्रदेश संसदीय दलका नेता जीवन शाही र प्रदेश सभापति ललितजंग शाही मात्र छन् ।
खड्का निकट मानिने कर्णाली प्रदेशबाट प्रतिनिधि सभा सदस्य बिष्णुबहादुर खड्का, खड्कबहादुर बिसी, जयपति रोकाया राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकाया सहभागी भएका छन् ।


