काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सर्वोच्च नीति–निर्माण तह ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दैछ ।
आगामी २०८३ जेठ ३ देखि १० गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने यस महासभामा नेपालले ‘उपाध्यक्ष’ को भूमिका निर्वाह गर्दै विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको नेतृत्वमा भोलि(आइतबार)जेनेभा प्रस्थान गर्न लागेको नेपाली प्रतिनिधिमण्डलले यस मञ्चमा नेपालको तर्फबाट नेतृत्वदायी प्रस्तुती दिनेछ ।
अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता जनाउने क्रममा विगतमा ठुलो सङ्ख्यामा प्रतिनिधिमण्डल पठाउने ‘जम्बो टोली’ को प्रवृत्ति रहँदै आएकोमा, यस पटक सरकारले त्यसमा सुधार गर्दै छरितो र विज्ञहरू सम्मिलित टोली मात्र पठाउने निर्णय गरेको छ ।
परराष्ट्र मन्त्रालयको विवरणअनुसार, कुल नौं सदस्यीय प्रतिनिधिमण्डलमध्ये नेपालबाट मन्त्री मेहतासहित जम्मा तीन जना उच्चपदस्थ अधिकारीहरू मात्र जेनेभा प्रस्थान गर्नेछन् ।
बाँकी ६ जना सदस्यहरू जेनेभास्थित नेपालको स्थायी नियोगबाटै सहभागी हुने व्यवस्था मिलाइएको छ ।अनावश्यक भ्रमण भत्ता र हवाई भाडा जस्ता प्रशासनिक खर्च कटौती गर्दै, विदेशस्थित कूटनीतिक नियोगको जनशक्तिलाई अधिकतम उपयोग गर्ने सरकारको तयारी छ ।
नेपालबाट प्रस्थान गर्ने अधिकारीहरूः
-निशा मेहताः मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (प्रतिनिधिमण्डल प्रमुख)
-यशोदा अर्यालः सहसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
-डा. रोशन न्यौपानेः सहसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
जेनेभास्थित स्थायी नियोगबाट सहभागी हुने अधिकारीहरूः
-राम प्रसाद सुवेदीः राजदूत तथा स्थायी प्रतिनिधि
-डमरु बल्लभ पौडेलः उप–स्थायी प्रतिनिधि ÷ मन्त्री
-सुवाङ्ग पराजुलीः काउन्सिलर
-श्रीकृष्ण सिलवालः प्रथम सचिव
-रोनल राईः प्रथम सचिव
-सुजन लामिछानेः द्वितीय सचिव ।


