नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै

काठमाडौं – ‘नर्स बन्न केवल पढाइ पूरा गर्नु पर्याप्त हुँदैन, संवेदनशील मन आवश्यक छ । ’ नेपालमा पछिल्लो समय नर्सहरूको अभाव स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै गएको छ ।

निजी तथा सरकारी अस्पतालहरूमा दक्ष नर्स पाउन कठिन हुन थालेको छ भने ठूलो संख्यामा नेपाली नर्सहरु विदेश पलायन भइरहेका छन् ।

कम तलब, कामको उच्च दबाब, सीमित सेवा–सुविधा र भविष्यप्रतिको असुरक्षाका कारण धेरै नर्स विदेशतर्फ आकर्षित भएका छन् । यद्यपी, देशभर नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरूको संख्या भने बढ्दो अवस्थामा छ । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै काठमाडौं क्यान्सर सेन्टरकी नर्स इन्चार्ज निस्ता खत्रीले नर्सिङ पेशा केवल जागिर नभइ सेवाभावसँग जोडिएको पेशा भएको बताइन् ।

उनले बिरामीको पीडालाई आफ्नै पीडा ठानेर काम गर्नसक्ने भावना नभएसम्म सफल नर्स बन्न कठिन हुने बताइन् ।उनले पछिल्लो समय नेपालमा नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरूको संख्या बढिरहेको उल्लेख गर्दै देशभित्र मात्र नभइ विदेशमा पनि नेपाली नर्सहरूको माग उच्च रहेको बताइन् ।

खत्रीका अनुसार नर्स बन्न केवल पढाइ पूरा गर्नु पर्याप्त हुँदैन, त्यसका लागि संवेदनशील मन आवश्यक पर्छ । ‘बिरामीलाई आफ्नै परिवारको सदस्य सम्झन सक्नुपर्छ । बिरामीको घाउ, पीडा, मानसिक अवस्था र आर्थिक समस्यालाई बुझेर सेवा गर्न सक्ने व्यक्ति मात्रै असल नर्स बन्न सक्छ,’उनले भनिन् ।

Forbes

उनले नर्सिङ क्षेत्रमा महिलाको मात्रै सहभागिता भन्ने पुरानो सोच अझै समाजमा रहेको बताइन्। तर पछिल्ला वर्षहरूमा पुरुष नर्सको संख्या पनि विस्तारै बढिरहेको उनको भनाइ छ । ‘पहिले नर्सिङलाई महिलाले मात्र पढ्ने विषय मानिन्थ्यो। अहिले पुरुषहरू पनि नर्सिङ पढिरहेका छन् । विदेशमा नेपाली पुरुष नर्सहरूले राम्रो अवसर पाएका छन् ।

उनका अनुसार कम तलब, सुविधा अभाव र कामको उच्च दबाबका कारण धेरै नर्स विदेश जान बाध्य भइरहेका छन् । उनले नर्सहरूले पछिल्लो समय गरेको आन्दोलनको मुख्य कारण पनि उचित पारिश्रमिक भएको जानकारी दिइन् ।  जति मेहेनत वा जति काम गर्नुहुन्छ, सो अनुसार पारिश्रमिक नभएको कारणले गर्दा सबै नर्सहरु सडकमा उत्रिनु परेको छ ।’

यसमा थप्दै उनले भनिन्,‘नर्सहरूले दिनरात नभनी काम गर्छन् । आठ घण्टादेखि १२ घण्टासम्म ड्युटी गर्नुपर्छ । बिरामीको अवस्था हेरेर कहिलेकाहीँ आफ्नो आराम र खाना समेत छाड्नुपर्छ,।’

उनका अनुसार लामो ड्युटी, डबल सिफ्ट र ओभरटाइमका कारण नर्सहरूलाई व्यक्तिगत जीवन र परिवारलाई समय दिन कठिनाइ हुने गर्छ । विशेषगरी साना बच्चा भएका महिला नर्सहरूलाई अझ बढी चुनौती हुने उनले बताइन् ।

उनले भनिन्,‘सरकार र सम्बन्धित निकायले हाम्रो कामअनुसार उचित पारिश्रमिक र सुविधा दिनुपर्छ ।’ उनले धेरै नर्सहरू विदेश जाने सोचमा रहेको उल्लेख गर्दै आफू भने नेपालमै बस्ने चाहना भएपनि अवसर र अवस्थाले प्रभाव पार्ने बताइन् ।

‘नेपालमै राम्रो अवसर र सुविधा भए यहाँ बस्न मन छ, तर अहिलेको अवस्थामा विदेश जाने सोच धेरैमा आउँछ,’ उनले भनिन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु