काठमाडौं — राजधानीको बढ्दो सवारी चाप, अव्यवस्थित सडक संस्कार र दैनिकजसो बढिरहेका दुर्घटनाबीच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले ११ महिनाको कार्यसम्पादन सार्वजनिक गर्दै ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने अभियानलाई तीव्रता दिएको जनाएको छ। कार्यालयका प्रमुख नवराज अधिकारी को नेतृत्वमा सञ्चालन भइरहेको अभियानलाई “स्मार्ट ट्राफिक व्यवस्थापन” को नयाँ मोडलका रूपमा हेरिन थालेको छ।
पत्रकार सम्मेलनमा सूचना अधिकारी नरेशराज सुवेदी ले आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै उपत्यकाको ट्राफिक अवस्था, कारबाही, दुर्घटना नियन्त्रण र प्रविधिको प्रयोगबारे विस्तृत जानकारी दिनुभयो। उहाँका अनुसार ११ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ लाख ७३ हजार ५६२ चालक कारबाहीमा परेका छन्। एउटै कसुर पाँच पटकभन्दा बढी दोहोर्याउने ३१ जना चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग मा पठाइएको छ।
यद्यपि ट्राफिक प्रहरीले यसलाई केवल “कारबाहीको तथ्यांक” मात्र नभई “अनुशासन स्थापना अभियान” को रूपमा व्याख्या गरेको छ। एसएसपी नवराज अधिकारीले राजधानीमा ट्राफिक व्यवस्थापनलाई आधुनिक र पारदर्शी बनाउने उद्देश्यले CCTV, ANPR प्रणाली तथा “Faceless Traffic Management” लाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार अब ट्राफिक प्रहरी सडकमा उभिएर मात्र होइन, प्रविधिमार्फत २४ घण्टा सक्रिय हुनेछ।
“सडकमा प्रहरी नभए पनि नियम उल्लङ्घन गर्नेहरू अब प्रविधिबाट निगरानीमा पर्छन्,” अधिकारीले भन्नुभयो, “हाम्रो उद्देश्य दण्ड मात्र होइन, सुरक्षित र सभ्य ट्राफिक संस्कृतिको विकास हो।”
उहाँले ट्राफिक प्रहरीलाई “सेवामुखी र प्रविधिमैत्री” बनाउने अभियान अन्तर्गत अनलाइन कारबाही प्रणालीलाई समेत प्रभावकारी बनाइएको जानकारी दिनुभयो। यसले सेवाग्राहीलाई झन्झट कम गर्ने, पारदर्शिता बढाउने र ट्राफिक व्यवस्थापनलाई आधुनिक बनाउने विश्वास गरिएको छ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको दुर्घटना तथ्यांकले भने चुनौती अझै गम्भीर रहेको देखाएको छ। ११ महिनामा मात्रै काठमाडौँ उपत्यका मा ४ हजार ६३१ सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १७४ जनाको मृत्यु भएको छ भने १८६ जना गम्भीर घाइते भएका छन्। ४ हजार ९२७ जना सामान्य घाइते भएका छन्। ट्राफिक प्रहरीले दुर्घटनाका प्रमुख कारणमा तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, ट्राफिक संकेत उल्लङ्घन गर्ने र मोबाइल प्रयोग गर्दै ड्राइभ गर्ने प्रवृत्तिलाई औंल्याएको छ।
तर ट्राफिक प्रहरी केवल कारबाहीमै सीमित छैन। एसपी नरेशराज सुवेदीका अनुसार सडक प्रयोगकर्ताको व्यवहार सुधार गर्न विद्यालय, कलेज, सार्वजनिक यातायात तथा समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। चालक, सहचालक तथा पैदलयात्रीलाई लक्षित गरी विशेष अभिमुखीकरण कार्यक्रम पनि नियमित सञ्चालन भइरहेको छ।
यसबीच “No Horn” अभियानलाई राजधानीमा सकारात्मक अभियानका रूपमा हेरिएको छ। अनावश्यक हर्नको प्रयोग कम गर्दै ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीले निरन्तर निगरानी बढाएको जनाएको छ। विशेषगरी अस्पताल, विद्यालय र भीडभाड क्षेत्र वरपर हर्न नियन्त्रण अभियान प्रभावकारी देखिन थालेको ट्राफिक प्रहरीको दाबी छ।
विश्लेषकहरूका अनुसार काठमाडौंको ट्राफिक समस्या केवल प्रहरीको प्रयासले मात्र समाधान हुने विषय होइन। तीव्र शहरीकरण, सवारी साधनको अत्यधिक वृद्धि, सीमित सडक संरचना र कमजोर सार्वजनिक यातायात प्रणालीले समस्या जटिल बनाएको छ। यद्यपि पछिल्लो समय ट्राफिक प्रहरीले प्रविधिको प्रयोग बढाउनु, डिजिटल निगरानी विस्तार गर्नु र सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनु सकारात्मक कदमका रूपमा हेरिएको छ।
कार्यक्रमको अन्त्यमा एसएसपी नवराज अधिकारीले सुरक्षित सडक निर्माणका लागि नागरिक, चालक, यातायात व्यवसायी र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले “सभ्य ट्राफिक संस्कृतिको विकास बिना सुरक्षित राजधानी सम्भव छैन” भन्दै नियम पालना गर्न सबैलाई आग्रह गर्नुभयो।


