काठमाडौँ — इशान पाण्डेलाई समेट्दै नेपालले अमेरिका र स्कटल्यान्डविरुद्ध हुने क्रिकेट विश्वकप लिग–२ शृंखलाका लागि शनिबार १५ सदस्यीय टोली घोषणा गरेको छ । अघिल्लो साता यूएई र ओमानविरुद्ध लिग–२ मै खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गर्दै इशानलाई नेपाली टोलीमा समावेश गरिएको हो ।
इशानलाई बसिर अहमदको स्थानमा ल्याइएको छ । नेपालको एकदिवसीय टोलीमा इशानले पहिलो पटक स्थान पाएका हुन् । यूएई र ओमानविरुद्धको शृंखलामा उनी नेपालको वैकल्पिक टोलीमा मात्र रहेका थिए । यद्यपि इशानले नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २०१९ मै खेलेका थिए । नेपालबाट चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दै उनले ३३ रन बनाएका छन् । त्यत्तिखेर उनी नेपालका तत्कालीन कप्तान पारस खड्काका ओपनिङ ब्याटिङ जोडी रहेका थिए ।
नेपाल ‘ए’ बाट देब्रेहाते ब्याटर इशानले प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । उनले शनिबारमात्र स्कटल्यान्डसँगको खेलमा ५० रन बनाएका थिए । यसअघि नेपाल ‘ए’ बाटै खेल्दै ओमानसँगको दुवै खेलमा पनि उनले अर्धशतक बनाएका थिए ।


