उपकुलपतिको योग्यता : दलको सदस्य नभएको, पीएचडी अनिवार्य

एटुजेड समाचार

काठमाडौं – आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले शुक्रबार दरखास्त आह्वान गर्‍यो । अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि समितिले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न लागेको हो ।प्रधानमन्त्री एवं कुलपति बालेन शाहले शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेका थिए ।

समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको हो । आवेदन पेस गर्न १० दिनको समय दिइएको छ ।

विज्ञ उपसमितिले छनोट गर्ने

आठ वटा विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि पनि जारी भएको छ । सिफासिरस समितिले विज्ञ उपसमिति गठन गर्नेछ । उक्त उपसमितिले नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउने समितिले जनाएको छ । समितिले उम्मेदवारको मूल्यांकन र सार्वजनिक सुझावसमेत लिनेछ ।

विज्ञ उपसमितिले उम्मेदवारको शैक्षिक योग्यता, अनुसन्धान अनुभव, रणनीतिक दृष्टिपत्र, कार्ययोजना र प्रस्तुतीकरणको अध्ययन गरी प्रारम्भिक मूल्याङ्कन गरी उच्च अंक प्राप्त गर्ने १० जनाको सर्ट लिस्ट सार्वजनिक गर्नेछ । उम्मेदवारबारे सार्वजनिक राय–सुझाव संकलन गरिने छ । त्यसपछि प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ ।

Forbes

१०० पूर्णाङ्कमा मूल्याङ्कन

विशेषगरी भिजन पेपर र एक्सन प्लान मूल्याङ्कन गर्दा उम्मेदवारको नाम गोप्य राखिने समितिले जनाएको छ । भिजन पेपर र एक्सन प्लान ५ हजार शब्दको हुनुपर्ने भनिएको छ । उम्मेदवारले विश्वविद्यालय सुधार, अनुसन्धान विस्तार, प्रशासनिक सुधार र शैक्षिक गुणस्तर वृद्धिबारे रणनीति प्रस्तुत गर्नु पर्नेछ ।

कार्यविधिअनुसार मूल्याङ्कन १०० पूर्णाङ्कमा आधारित हुनेछ । प्रकाशित अनुसन्धान, पुस्तक, प्रशासनिक अनुभव, प्रस्तुतीकरण र अन्तर्वार्तालाई अंक दिइने छ । अत्यधिक कम वा धेरै अंक दिँदा कारण खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु