“सिमानामा सख्त कडाइ!” प्रहरी निरीक्षक बिक्रम सुवेदीको सक्रियतामा ८ नाबालिका रोकिए

पर्सा – पर्सा जिल्लाको नेपाल–भारत सीमामा सुरक्षा व्यवस्थामा अभूतपूर्व कडाइ गरिएको छ। वडा प्रहरी कार्यालय बिर्ता मातहत रहेको प्रहरी चौकी ईनर्वामा खडा गरिएको हेल्प डेस्कमा प्रहरी निरीक्षक बिक्रम सुवेदी को प्रत्यक्ष निगरानी र सक्रियतामा मिति २०८३/०१/२३ गते दिउँसो नेपालबाट भारतको रक्सौलतर्फ जाँदै गरेका १८ वर्षभन्दा कम उमेरका ८ जना नाबालिकालाई रोकिएको हो।

प्रहरी स्रोतका अनुसार ती नाबालिकाहरू कुनै स्पष्ट अभिभावकीय साथ वा अनुमति बिना सीमाना पार गर्न लागेका थिए। संवेदनशील अवस्थालाई मध्यनजर गर्दै प्रहरी टोलीले तत्काल उनीहरूलाई नियन्त्रणमा लिई चौकी ईनर्वामा स्थापना गरिएको होल्डिङ जोनमा राखेको थियो। त्यसपछि उनीहरूको परिवार तथा संरक्षकलाई सम्पर्क गरी झिकाइएको र आवश्यक सोधपुछपछि जिम्मा लगाएर सुरक्षित रूपमा पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको निर्देशनअनुसार मिति २०८३/०१/२२ गतेदेखि लागू गरिएको नयाँ सुरक्षा रणनीतिले सीमावर्ती क्षेत्रमा कडा निगरानी सुरु गरेको छ। विशेष गरी बालबालिकाहरूलाई लक्षित गरी हुन सक्ने मानव बेचबिखन, अवैध ओसारपसार तथा अन्य जोखिमपूर्ण गतिविधिलाई रोक्न प्रहरी चौकी ईनर्वालाई “सेन्सिटिभ प्वाइन्ट” का रूपमा विकास गरिएको छ।

प्रहरी निरीक्षक बिक्रम सुवेदी ले भने, “अभिभावकको साथ वा अनुमति बिना सिमाना पार गर्न खोज्ने नाबालक/नाबालिकालाई अब कुनै हालतमा छाडिने छैन। उनीहरूलाई होल्डिङ जोनमा राखेर परिवारको जिम्मा लगाउने कडा व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।”

स्थानीयवासीका अनुसार पछिल्लो समय सीमावर्ती क्षेत्रमा बालबालिका हराउने तथा भारततर्फ लगिने घटनामा वृद्धि भएपछि प्रहरीको यस्तो कडा कदम अत्यन्तै आवश्यक थियो। यस कदमले संभावित मानव तस्करीका जालो तोड्न र बालबालिकाको सुरक्षामा ठुलो योगदान पुग्ने अपेक्षा गरिएको छ।

Forbes

प्रहरीले सबै अभिभावकलाई आफ्ना बालबालिकाको गतिविधिमा विशेष ध्यान दिन र बिना अनुमति सीमाना पार गर्न नदिन अनुरोध गरेको छ। साथै, कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी निकायमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु