तेहरान — इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा अन्दीशेह सहरमा अवस्थित अर्घावन सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
मंगलबारदेखि सुरु भएको आगलागीमा परेर ४० जना घाइते भएको इरानको सरकारी टेलिभिजन आईआरआईबीले जनाएको छ । उक्त भवनमा २५० भन्दा बढी व्यापारिक एकाइहरू सञ्चालनमा रहेको जनाइएको छ ।
भवनको अग्रभागमा प्रयोग गरिएको मिश्रित सामग्रीका कारण आगो छिट्टै फैलिएको अन्दीशेह सहरको अग्नि नियन्त्रण विभागका प्रमुख अली पाइदारले बताएको इरानी विद्यार्थी संगठन (आईएसएनए)ले जनाएको छ ।
आईएसएनएले इरानको रेड क्रिसेन्ट सोसाइटीलाई उद्धृत गर्दै तालिम प्राप्त कुकुरहरूसहित उद्धार खोजी र उद्धारका लागि घटनास्थलमा रहेको बताएको छ ।
आगलागी के कारण भएको भन्नेबारे अधिकारीहरुले अनुसन्धान गर्दै गरेको आईआरआईबीले जनाएको छ ।


