देशभर मौसममा बदलाव: मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

एटुजेड समाचार

हाल नेपालमा विभिन्न वायु प्रणालीहरूको संयुक्त प्रभावका कारण मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

यसका अतिरिक्त नेपालको दक्षिणतर्फ पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाले समेत मौसमलाई प्रभावित बनाएको छ। यी प्रणालीहरूको सक्रियताका कारण देशका अधिकांश भूभागमा बादल लाग्ने र वर्षा हुने क्रम सुरु भएको छ।

हालको मौसमी अवस्थालाई हेर्दा सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रहेको छ भने कोशी, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रलगायत देशका हिमाली भूभागमा साधारणतया बदलीको स्थिति छ।

तराई र पहाडी क्षेत्रका अन्य भूभागमा पनि आंशिक बदली देखिएको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अहिले नै मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Forbes

आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहने देखिन्छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत प्रक्षेपण गरिएको छ। यसले गर्दा विशेषगरी पहाडी र हिमाली क्षेत्रको जनजीवन प्रभावित हुन सक्ने देखिन्छ।

आज रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली कायमै रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदली हुनेछ। रातीको समयमा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

बाँकी प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा र उच्च क्षेत्रमा हिमपात हुन सक्ने पूर्वामान छ। मौसममा आएको यो फेरबदलका कारण मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु