आईपीएल फ्रान्चाइजी राजस्थान रोयल्सलाई विश्वका नम्बर एक स्टील टाइकुन लक्ष्मी मित्तल र आदित्य मित्तलले किनेका छन्।
यस सम्झौताको अनुमानित उद्यम मूल्य लगभग १.६५ अर्ब अमेरिकी डलर (लगभग भारु १५ हजार ६६० करोड) हुने अनुमान गरिएको छ। यो आईपीएल इतिहासको दोस्रो सबैभन्दा ठूलो सम्झौता हो।
सम्झौता पूरा भएपछि, मित्तल परिवारले राजस्थान रोयल्सको लगभग ७५ प्रतिशत स्वामित्व पाउनेछन्। यस्तै, आदर पुनावाला लगभग १८ प्रतिशत साझेदार रहनेछन् भने बाँकी ७ प्रतिशत मनोज बडाले र अन्य अवस्थित लगानीकर्ताहरूसँग हुनेछ।
यसअघि मार्च २८ मा भारतीय–अमेरिकी व्यापारी काल सोमानी र उनको कन्सोर्टियमले राजस्थान रोयल्सको लागि १.६३ अर्ब डलर बोली लगाएको पीटीआईले उल्लेख गरेको छ। पछि कन्सोर्टियम सम्झौताबाट पछि हटेको थियो।
राजस्थान रोयल्सको स्वामित्वमा दक्षिण अफ्रिकाको पार्ल रोयल्स र क्यारिबियन लिगको बार्बाडोस रोयल्स पनि समावेश छन्।
यद्यपी, भारतीय क्रिकेट नियन्त्रण बोर्ड, आईपीएल गभर्निङ काउन्सिल र अन्य सम्बन्धित निकायहरूबाट स्वीकृति पछि मात्र यसलाई अन्तिम रूप दिइनेछ। सबै प्रक्रियाहरू पूरा भएपछि, सम्झौता सेप्टेम्बर २०२६ सम्ममा पूरा हुन सक्ने अनुमान गरिएको छ।
नयाँ स्वामित्वमा लक्ष्मी एन. मित्तल, आदित्य मित्तल, वनिशा मित्तल–भाटिया, आदर पुनावाला र मनोज बडा रहनेछन्।
राजस्थान रोयल्सले २००८ मा पहिलो आईपीएल सिजन जितेको थियो। पछि २०२२मा फाइनलमा पुगेको टोली गुजरात टाइटन्ससँग पराजित भएको थियो।
राजस्थान रोयल्सलाई स्पट–फिक्सिङ गरेको आरोपमा दुई बर्षका लागि प्रतिबन्ध लगाइएको थियो। रोयल्सलाई २०१६ र २०१७ को आईपीएल सिजनबाट निष्कासन गरिएको थियो। एजेन्सी


