रौतहट – रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एक दलित महिलामाथि मानव मलमूत्र खुवाइएको अमानवीय घटना सार्वजनिक भएको छ। पीडित महिला स्थानीय पूर्व वडा सदस्य रहेको खुलासा भएको छ।
कटहरिया नगरपालिका–९ की करिब ५५ वर्षीया अंकलियादेवी मुसहरनीमाथि स्थानीय केही व्यक्तिले यस्तो दुर्व्यवहार गरेको आरोप लागेको हो। पीडित परिवारका अनुसार छिमेकी पुकार माझीको घरमा भएको विवाह कार्यक्रममा पर्साबाट आएको जन्ती पक्षका १० वर्षीय बालक अचानक विरामी भई बान्ता गरेका थिए।
सोही घटनालाई आधार बनाएर शनिबार साँझ १५ देखि २० जनाको समूह अंकलियादेवीको घरमा पुगेको परिवारले जनाएको छ। समूहले जादूटुना गरेको आरोप लगाउँदै उनलाई नियन्त्रणमा लिएर बियरको बोतलमा घोलेर ल्याइएको मानव मलमूत्र जबरजस्ती खुवाएको पीडितकी छोरी सुमिला देवीले बताइन्।
उनका अनुसार विरोध गर्दा परिवारका सदस्यहरूमाथि कुटपिट गरिएको थियो।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको टोलीले पीडित महिलाको उद्धार गरेको थियो। अचेत अवस्थामा फेला परेकी उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लगिएको र हाल अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरले घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको बताए। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले घटनाको अनुसन्धान भइरहेको भन्दै दोषीमाथि कानुनअनुसार कडा कारबाही गरिने बताए।


