काठमाडौँ – शीर्ष चार ब्याटरको अर्धशतकमा यूएईले क्रिकेट विश्वकप लिग २ मा आइतबार ओमानमाथि ५४ रनको महत्त्वपूर्ण विजय हात पारेको छ । जितका बाबजुद यूएई पुछारमै छ । यूएईको २४ खेलमा १४ अंक छ । यूएईभन्दा २ अंक बढी जोडेको नेपाल सातौं स्थानमा छ ।
अमेरिका २४ खेलमा ३६, स्कटल्यान्ड २८ खेलमा ३४, ओमान २७ खेलमा ३१, नेदरल्यान्ड्स २४ खेलमा २८, नामिबिया २८ खेलमा २२ र क्यानडा २४ खेलमा २१ अंक जोडी पहिलो ६ स्थानमा छन् । आठ राष्ट्र सहभागी लिग २ को शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरको मैदान भिजेका कारण खेल ४७–४७ ओभरमा छोट्याइएको थियो । शीर्षपंक्तिका चार ब्याटरहरूले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङ रोजेको यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाई ३ सय ८ रन बनायो ।
आर्यन्श शर्माले ६१ बल खेली ५ चौका र १ छक्कासहित ५०, अबिद उस्मानीले ७८ बल खेली ५ चौका र ३ छक्काका साथ ७२, हरप्रित सिंहले ६५ बल खेली ७ चौकासहित ७७ तथा मोहम्मद साहदादले ६४ बल खेली समान ५ चौका र छक्कासहित ७४ रन बनाए । ओमानका मोहम्मद इमरानले ९ ओभरमा ७० रन खर्चेर ३ र नदिम खानले ९ ओभरमा ५५ रन खर्चेर २ विकेट लिए ।
यूएईका तीव्र बलर जुनाइद सिद्धिकीले आफ्नो खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिएपछि जवाफमा आएको ओमान ३९.५ ओभरमा २ सय ५४ रनमा अलआउट भयो । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक ५ विकेट लिएका हुन् । सो क्रममा उनी यूएईबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी बने । उनको विकेट संख्या ९८ पुगेको छ । उनले कुल ७.५ ओभरमा ४९ रन खर्चे । साहदादले ५ ओभरमा ३४ रन खर्चेर २ र मोहमम्द जवादुल्लाहले १ विकेट लिए ।
ओमानबाट जितेन रमानन्दी ९१ रन बनाई अविजित रहे । उनले ६२ बलको इनिङ्समा ७ चौका र ६ छक्का प्रहार गरे । हमाद मिर्जाले ८२ बल खेली ६ चौका र ४ छक्कासहित ८३, आर्यन विष्टले ३२ बल खेली ३ चौका र १ छक्कासहित २७ रन बनाए ।
यूएईले यस लिग २ को शृंखलामा ओमानलाई दोस्रो पटक हराएको हो । तर यूएई दुवै पटक नेपालसँग पराजित भएको थियो । नेपाल र ओमान मंगलबार अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
ओमानले पहिलो खेलमा यसअघि नै नेपाललाई १ सय २ रनले पराजित गरेको थियो । यूएईले अब अमेरिका गएर अमेरिका र नामिबिया तथा स्कटल्यान्ड गएर स्कटल्यान्ड र क्यानडासँग खेल्नेछ भने घरेलु मैदानमा ओमान र नेदरल्यान्ड्सको आतिथ्यता गर्नेछ । त्यसअघि ओमानले अक्टोबरमा मस्कटमा नेपाल र क्यानडासँग खेल्नेछ ।


