काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुने बताएकी छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो जारी गर्दै उनले वधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुने भन्दै विधायिका संसद्ले बनाएको कानुनकै अधीनमा रहेर सरकारले काम गर्ने बताइन् ।
उनले भनिन्, ‘विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुन्छ । विधायिका संसद्ले बनाएको कानुनकै अधीनमा रहेर सरकारले काम गर्न मिल्छ । नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको संरचनाको परिकल्पना गरेको छ ।’
मन्त्री गौतमले नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको संरचनाको परिकल्पना गरेको बताइन् ।
उनले संसद्को अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक भएमा संविधानको धारा ११४ अनुसार अध्यादेश ल्याउन सकिने संवैधानिक व्यवस्था रहेको उल्लेख गरिन् ।उनले विगतमा अध्यादेशको दुरुपयोग भएका कारण अहिले पनि आलोचना हुनु स्वाभाविक भए तापनि यस पटकको सन्दर्भ फरक रहेको दाबी गरिन् ।
उनले भनिन्, ‘अहिलेको सरकारसँग संसद्मा झन्डै दुई तिहाइ बहुमत छ । त्यसैले कुनै कुरा लुकाएर वा पर्दा पछाडि बसेर खुसुक्क गर्नुपर्ने अवस्था छैन ।’सरकारले द्रुत गतिमा र प्रभावकारी रूपमा जनताका मुद्दाहरू सम्बोधन कानुनी अवरोधहरू हटाउन अध्यादेश ल्याएको उनले बताइन् । उनले भनिन, ‘सरकार द्रुत गतिमा र प्रभावकारी रूपमा जनताका मुद्दाहरू सम्बोधन गर्न चाहन्छ, त्यसैले कानुनी अवरोधहरू हटाउन अध्यादेशको सहारा लिइएको हो ।’


