चितवन – बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डका लागि चितवनको खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भएको छ। चितवन जिल्ला खेलकुद बिकास समितिले आज (बुधबार) बाट बन्द प्रशिक्षण सुरु गरेको हो।
बैशाख २५ गतेसम्म हुने बन्द प्रशिक्षणको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको थियो। बन्द प्रशिक्षणमा खेलाडी र टिम व्यवास्थापकसहित एक सय एक जना सहभागी छन्। कराते र तेक्वान्दोका १२-१२, कबड्डी र भलिवलतर्फ महिला र पुरुष समान ९-९ जना र एथलेटिक्सका २२ खेलाडी बन्द प्रशिक्षणमा छन्। यस्तै १० जना प्रशिक्षक, ५ जना व्यवस्थापक तथा ४ जना टोली प्रमुख र उपप्रमुख पनि सहभागी भएको समितिका कार्यालय सचिव रामजी ढकालले जानकारी दिए।
जिल्ला खेलकुद बिकास समितिले प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डका लागि पहिलो पटक बन्द प्रशिक्षण राखेको हो। समितिका अध्यक्ष राजन कार्कीले खेलाडीहरुको मनोवल उच्च बनाउनका लागि पहिलो पटक यसरी बन्द प्रशिक्षण राखेको बताए। प्रतियोगितामा खेलाडीहरुको प्रदर्शन अझै उच्च बनाउनका लागि बन्द प्रशिक्षणले सहयोग पुग्ने उनको भनाइ थियो।
प्रतियोगितामा केवल सहभागिताका लागि मात्र नभई मेडल जित्नका लागि चितवनका खेलाडीहरुको सहभागी हुने उनको भनाइ थियो।
बागमती प्रदेश खेलकुद बिकास परिषदका सदस्य कृष्णबहादुर नेपाल सुजनले खेलकुद बिकास समितिले आयोजना गरेको बन्द प्रशिक्षणको प्रशसा गरे।पूर्व प्रशिक्षक कान्ति महतोले खेलकुद समितिले पहिलो पटक यस किसिमको बन्द प्रशिक्षण राखेको भन्दै खुसि व्यक्त गरिन्।
यसले खेलाडीहरुलाई ठूलो प्रतियोगिता अघि तयार हुन तथा आत्मावल समेत बढ्ने उनको भनाइ थियो। खेलाडीहरुले पनि बन्द प्रशिक्षणले निखारता ल्याउन मद्दत मिल्ने बताए। बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड यहि जेठ १ देखि ३ गतेसम्म हुनेछ।


