विद्युत् अभावले कोल्डस्टोर प्रयोगविहीन, कृषक सस्तो मूल्यमा स्याउ बेच्न बाध्य

मुगु –  कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष ०६७÷०७७ मा ४० लाख रुपैयाँको लागतमा छायाँनाथ रारा नगरपालिका–४, ताल्चामा निर्माण गरिएको आधुनिक उपकरण सहितको कोल्ड स्टोर विद्युत् समस्याका कारण प्रयोगविहीन अवस्थामा रहेको छ ।

छायाँनाथ रारा नगरपालिका–४ र ५ नम्बर वडालाई स्याउ जोनका रूपमा विकास गर्ने उद्देश्यले उक्त कोल्ड स्टोर निर्माण गरिएको हो ।

कृषकले उत्पादन गरेका स्याउ लामो समयसम्म भण्डारण गरी उचित मूल्यमा बिक्री गर्न सकुन् भन्ने उद्देश्य रहेपनि वैकल्पिक विद्युत् व्यवस्था नहुँदा कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन ।

२० टन क्षमताको उक्त कोल्ड स्टोर सञ्चालनमा नआउँदा यस क्षेत्रका स्याउ कृषकहरू उत्पादन लागतसमेत नउठ्ने गरी सस्तो मूल्यमा स्याउ बेच्न बाध्य भएका छन् । सुरुमा गमगाड जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति हुँदा कोल्ड स्टोर सञ्चालनमा रहे पनि राष्ट्रिय प्रसारण लाइन विस्तारपछि भोल्टेज नपुग्दा उपकरण सञ्चालन हुन नसकेको हो ।

कोल्ड स्टोरका सञ्चालक हरि भामका अनुसार मासिक चार हजार रुपैयाँ भन्दा बढी विद्युत् महसुल तिर्नु परे पनि हाल जडान गरिएको विद्युत् पाँच मिनेट पनि टिक्दैन ।

Forbes

‘कोल्ड स्टोर सञ्चालनका लागि २४ घण्टा विद्युत् आवश्यक पर्छ,’ उनले भने,‘अहिलेको अवस्थाले लाखौँ रुपैयाँका मेसिन र उपकरण बिग्रिने जोखिममा छन् । भामका अनुसार नियमित सञ्चालनका लागि सोलार प्रविधि नै एकमात्र विकल्प हो । तर सोलार प्रणाली जडान गर्न २५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएकाले स्थानीय स्तरबाट सम्भव नभएको उनले बताए ।

कृषि कार्यालय मुगुका कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले कोल्ड स्टोर निर्माण भएको जानकारी भएपनि सञ्चालनमा नआउनुको कारणबारे आफूलाई औपचारिक जानकारी नभएको बताए । हालसम्म कुनैपनि पक्ष समस्या लिएर कार्यालयमा आएको छैन,’ उनले भने। सञ्चालनमा नआउनु भनेको विद्युतकै कारण हुनसक्ने उनले बताए ।
ताल्चा क्षेत्रका करिब २ सयभन्दा बढी कृषक स्याउ खेतीमा निर्भर छन् ।

यद्यपि, यो वर्ष ताल्चाका कृषकहरूको स्याउ उत्पादनमा अपेक्षाकृत कम भएपनि जिल्लाबाट निर्यात भएको कुल स्याउमध्ये करिब आधा हिस्सा ताल्चा क्षेत्रकै भएको बताएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु