चितवन – चितवनमा आज (आइतबार) बिहानैदेखि मेघगर्जनसहित वर्षा भैरहेको छ । जसले केही दिनयता बढेको अत्यधिक गर्मीबाट प्रभावित जनजीवनमा राहत मिलेको छ।
पछिल्ला दिनहरूमा चर्को घाम, तुवाँलो र प्रदूषणका कारण जनजीवन निकै प्रभावित भएको थियो। विशेषगरी आँखा पोल्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्याका कारण मानिसहरू घर बाहिर निस्कनसमेत असहज महसुस गरिरहेका थिए।
आज बिहान परेको वर्षाले वातावरण केही स्वच्छ बनाउनुका साथै तापक्रम घटाएर सहजता ल्याएको स्थानीयहरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बाग्मती, कोशी र गण्डकी प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।
विशेषगरी चट्याङ र हावाहुरीबाट हुन सक्ने असरबाट बच्नका लागी विभागले आवश्यक सतर्कता अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।


