अत्याधुनिक बन्दै नेपालकै ठूलो पुस्तकालय : अन्तर्राष्ट्रिय स्तरको ‘अनुसन्धान केन्द्र’ बनाउने लक्ष्य

काठमाडौं –  त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई अब केवल अध्ययन स्थल मात्र नभई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको छ । पुस्तकालयलाई आधुनिक ‘अनुसन्धान केन्द्र’ साथै डिजिटाइजेसनका रूपमा विकास गर्ने लक्ष्य राखिएको हो ।

पुस्तकालयले ज्ञान उत्पादन र अनुसन्धान प्रवद्र्धनतर्फ आफूलाई रूपान्तरण गर्ने योजना बनाइरहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदीले बताए ।

सुवेदीका अनुसार हाल पुस्तकालयले उपलब्ध गराउँदै आएको सेवा केवल पुस्तक अध्ययनमा सीमित नभई डिजिटल स्रोत, अनुसन्धान सामग्री र अन्तर्राष्ट्रिय डाटाबेससम्म विस्तार भइसकेको छ ।

‘अब हाम्रो उद्देश्य पुस्तकालयलाई रिसर्च लाइब्रेरीका रूपमा विकास गर्नु हो,’ उनले भने । उनका अनुसार भविष्यमा पुस्तकालयको वेब पोर्टलमार्फत नेपालका विभिन्न संस्थाका ज्ञान स्रोतहरू एकै स्थानबाट पहुँचयोग्य बनाउने दीर्घकालीन योजना पनि अघि बढाइएको छ ।

सुवेदीका अनुसार त्रिवि केन्द्रीय पुस्तकालय नेपालकै सबैभन्दा ठूलो पुस्तकालय हो, जहाँ अहिले पनि ठूलो संख्यामा विद्यार्थीहरू अध्ययनरत छन् । दुई भवनमा मात्रै करिब १,३०० भन्दा बढी विद्यार्थीहरू एकै समयमा अध्ययन गरिरहेका छन्।

Forbes

पुस्तकालयले २४ घण्टा अध्ययन सेवा विस्तार गर्दै करिब नयाँ भवनको तल्लो तलामा मात्रै २०० विद्यार्थीका लागि निरन्तर अध्ययनको व्यवस्था मिलाएको छ । केही समयअघि मात्रै उक्त कक्षलाई २४ घण्टा सञ्चालनमा ल्याइएको हो।

पुस्तकालय परिसर, भवनभित्र मात्र नभई बगैंचा तथा बाहिरी क्षेत्रमा समेत विद्यार्थीहरूको अध्ययन गतिविधि देखिने गरेको छ।

‘पठन संस्कृति मरेको छैन, बरु अझै विस्तार भइरहेको छ,’ उनले भने, ‘हाम्रो पुस्तकालयमा आएर हेर्नेहरूले यो कुरा सहजै महसुस गर्न सक्छन्।’

विद्यार्थीको अत्यधिक चापका कारण पुस्तकालयले भौतिक पूर्वाधार व्यवस्थापनमा चुनौती भोगिरहेको छ । बस्ने ठाउँ अभाव, शौचालय समस्या, खानेपानीको कमी तथा ढल व्यवस्थापनजस्ता समस्या बढ्दै गएको पुस्तकालय प्रशासनले जनाएको छ ।

लोकसेवा, भाषा अध्ययन, विदेश अध्ययन तयारी, प्रवेश परीक्षा तथा विभिन्न आयोगको तयारी गर्ने विद्यार्थीहरूको भीड अत्यधिक हुने गरेको छ ।

सुवेदीका अनुसार कीर्तिपुर क्षेत्रमा ‘केन्द्रीय पुस्तकालयमा बसेर पढेपछि लोकसेवा निस्कन्छ’ भन्ने चर्चा समेत फैलिएको छ, जसका कारण एसईई÷एसएलसी पास गरेका विद्यार्थीसमेत सदस्यता लिन आउने गरेका छन् । उनले राज्यलाई सामूदायिक पुस्तकालयहरूको संख्या बढाउन आग्रह गर्दै प्रत्येक स्थानीय तहमा सार्वजनिक अध्ययन केन्द्र आवश्यक रहेको बताए ।

पुस्तकालयले डिजिटल सेवामा पनि उल्लेखनीय विस्तार गरेको छ। हाल करिब २० हजारभन्दा बढी थेसिस तथा डिजिटल अनलाइनमार्फत अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ । साथै विभिन्न अन्तर्राष्ट्रिय डाटाबेस, ई–बुक, जर्नल आर्टिकल तथा अनुसन्धान सामग्री विद्यार्थी, शिक्षक र अनुसन्धानकर्तालाई उपलब्ध गराइएको छ।

पुस्तकालयमा हाल करिब ५ देखि ६ हजार सक्रिय सदस्य छन् । विद्यार्थी परिचयपत्र भएका करिब चार हजार विद्यार्थी सदस्य छन् भने थप चार हजार जति अध्ययन कक्ष प्रयोग गर्ने रिफरेन्स सदस्य रहेका छन् । दैनिक रूपमा १,२०० देखि १,४०० जना विद्यार्थी तथा पाठकहरू पुस्तकालयमा आउने–जाने गरेको तथ्यांक छ ।

विश्वविद्यालयभन्दा बाहिरका सर्वसाधारणलाई पनि पुस्तकालयले अध्ययन अवसर उपलब्ध गराउँदै आएको छ । तर बढ्दो चापका कारण बस्ने स्थान, शौचालय, खानेपानी तथा अन्य आधारभूत पूर्वाधारमा चुनौती देखिएको सुवेदीले बताए ।

पूराना अभिलेख, अनुसन्धान सामग्री र नेपालसम्बन्धी दस्तावेज खोज्न आउने धेरै देश भन्दा बाहिरका पाठकहरु केही दिन बसेर अध्ययन गर्ने गरेको सूचना अधिकारी शर्माले जानकारी दिए । पुस्तकालयले पुराना दस्तावेजहरू डिजिटलाइज गर्दै दीर्घकालीन रूपमा ज्ञान संरक्षण गर्ने लक्ष्य लिएकोछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु