काठमाडौं – गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग साझेदार रहेको र सेयर कारोबार गरेको विषयमा चौतर्फी आलोचना भएपछि उनले आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका हुन् । उनले राजीनामा दिएको बारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले आफूमाथि उठेका प्रश्नलाई गम्भीर रुपमा लिएको भनेका छन् ।
‘म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु,’ उनले भनेका छन्, ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन।
आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ । सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ ।’ उनले आफूमाथि पनि यसविषयमा छानबिन होस् भनेर माग गरेका छन् । उनले पदमा रहेर छानबिन गर्दा स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको भनेका छन् ।


