पर्सा — जिल्लामा बढ्दो आपराधिक गतिविधि, संगठित गिरोहको सक्रियता तथा आर्थिक अपराधका घटनालाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले चैत महिनाभर सञ्चालन गरेको विशेष ‘क्र्याकडाउन अपरेसन’ले जिल्लाभर तरंग ल्याएको छ।
सार्वजनिक गरिएको मासिक प्रगति विवरणअनुसार प्रहरीले एकै महिनामा १५२ वटा मुद्दा दर्ता गर्दै अपराध नियन्त्रणमा आक्रामक उपस्थिति जनाएको छ।
प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये ५८ वटा मुद्दा संगठित तथा आर्थिक अपराधसँग प्रत्यक्ष सम्बन्धित छन्। यसले जिल्लाभित्र अवैध आर्थिक कारोबार, तस्करी सञ्जाल तथा संगठित आपराधिक समूहहरूको सक्रियता अझै चुनौतीपूर्ण अवस्थामा रहेको संकेत गरेको प्रहरी स्रोतको विश्लेषण छ।
अभियानकै क्रममा विभिन्न घटनामा संलग्न १०२ जना प्रतिवादीलाई पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये केही संगठित गिरोहसँग आबद्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ। उनीहरूमाथि थप अनुसन्धान तीव्र पारिएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यस अवधिमा प्रहरीले राजस्व चुहावट नियन्त्रण, अवैध ढुवानी, सीमावर्ती तस्करी तथा आर्थिक अपराधमा समेत विशेष निगरानी बढाएको छ। विभिन्न स्थानमा गरिएको सूचनामूलक तथा लक्षित अपरेसनमार्फत शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रम जारी रहेको प्रहरीको भनाइ छ।
त्यस्तै, फैसला कार्यान्वयन अभियानलाई पनि प्राथमिकतामा राख्दै लामो समयदेखि फरार रहेका अभियुक्तहरूको खोजी तथा पक्राउलाई तीव्रता दिइएको छ। अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने कार्यलाई प्रहरीले ‘शून्य सहनशीलता’ अन्तर्गत अघि बढाएको बताइएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदिप राज पाठक ले अपराधविरुद्धको अभियानलाई अझ कठोर बनाइने स्पष्ट चेतावनी दिएका छन्।
उनले कडा शब्दमा भनेका छन्, “अब पर्सा जिल्लामा अपराध गर्ने, अवैध गतिविधि गर्ने वा कानुनविपरीत काम गर्ने कुनै पनि व्यक्तिलाई कुनै किसिमको छुट दिइने छैन। प्रहरी पूर्ण रूपमा आक्रामक शैलीमा प्रस्तुत भएको छ र यो अभियान रोकिँदैन, अझ तीव्र हुन्छ।”
उनका अनुसार पछिल्लो समय सूचनामूलक प्रहरी निगरानी, गस्ती व्यवस्था, सीमावर्ती चेकपोस्ट सुदृढीकरण तथा लक्षित अपरेसनका कारण अपराध नियन्त्रणमा उल्लेखनीय सुधार देखिएको छ। तर संगठित अपराध र आर्थिक अनियमितताका सञ्जाल अझै पूर्ण रूपमा निष्क्रिय नभएकाले थप कडा रणनीति अपनाइएको उनले बताए।
प्रहरीले अपराध नियन्त्रणलाई केवल पक्राउसम्म सीमित नराखी, अपराधको जरा नै उखेल्ने रणनीति अपनाएको जनाएको छ। विशेष गरी तस्करी, राजस्व छल, नक्कली कारोबार र संगठित आर्थिक अपराधमा संलग्न सञ्जालमाथि केन्द्रित अनुसन्धान चलिरहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले आगामी दिनमा पनि यस्ता आक्रामक अभियानलाई निरन्तरता दिँदै जिल्लामा शान्ति–सुरक्षा सुदृढ, अपराधमुक्त वातावरण निर्माण र कानुनी शासन मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


