नौ महिनामै २३ करोड राजस्व सङ्कलन, सवारी करको हिस्सा सबैभन्दा बढी

एटुजेड समाचार

मध्यविन्दु –  यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु आर्थिक वर्षको नौ महिनामा २३ करोड ३० लाख १६ हजार २२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र र सवारी दर्ता लगायतका विभिन्न शीर्षकबाट यो रकम जम्मा भएको हो।

राजस्वको मुख्य हिस्सा सवारीसाधन करले ओगटेको छ। कार्यालय प्रमुख टेकबहादुर नेपालीका अनुसार यस अवधिमा सवारीसाधन करबाट मात्रै १९ करोड २४ लाख २२ हजार २७० रुपैयाँ सङ्कलन भएको छ। यस्तै, सवारी चालक अनुमतिपत्र र सवारी दर्ता किताब (बिलबुक) बापत ३ करोड ७४ लाख ९२ हजार २३४ रुपैयाँ राजस्व उठेको छ। यातायात क्षेत्रको अन्य आम्दानीबाट २३ लाख २९ हजार ९९० र प्रशासनिक सेवा शुल्कबापत ७ लाख ७१ हजार ५२८ रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ।

चैत महिनामा राजस्व सङ्कलनलाई थप व्यवस्थित बनाउन कार्यालयले विशेष अभियान नै चलाएको थियो। यस अन्तर्गत बिलबुक नवीकरण, जाँच पास, रुट परमिट र लाइसेन्सको चेकजाँचलाई प्राथमिकता दिइएको थियो। प्रदेश सरकारको लक्ष्य अनुसार कर सङ्कलन प्रक्रियालाई चुस्त र पारदर्शी बनाइएकाले राजस्वमा सुधार देखिएको प्रमुख नेपालीको दाबी छ।

सेवाग्राहीलाई कार्यालयमा हुने भीडभाडबाट जोगाउन र छिटो सेवा दिन छुट्टै काउन्टरको व्यवस्था गरिएको सूचना अधिकारी टेकनारायण तिवारीले बताए। उनले भने, ‘’सेवाग्राहीले कर तिर्न आवश्यक कागजात र जानकारी सहजै पाउने गरी अतिरिक्त कर्मचारी खटाएका छौँ।‘’ गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कार्यालयले २३ करोड ५४ लाख ३० हजार ९८० रुपैयाँ राजस्व उठाएको थियो, जुन तुलनात्मक रूपमा अहिलेको भन्दा केही बढी थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु