बारा ट्राफिक प्रमुख दीपक केसीको एक वर्षे कार्यकाल : “सडक सुरक्षा व्यवस्थापनमा व्यापक सुधार ”

कलैया, बारा – बारा ट्राफिक प्रहरी निरीक्षक दीपक केसीले ट्राफिक प्रहरीको कामलाई लिएर समाजमा देखिने गलत बुझाइप्रति स्पष्ट पार्दै ट्राफिक प्रहरीको मूल उद्देश्य जरिवाना संकलन गर्नु नभई नागरिकको जीवन रक्षा, सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यातायात व्यवस्थापन तथा ट्राफिक अनुशासन कायम गर्नु भएको बताउनुभएको छ।

वहाँले ट्राफिक प्रहरीलाई केवल दण्ड–जरिवानासँग मात्र जोडेर हेर्ने प्रवृत्ति गलत रहेको उल्लेख गर्दै ट्राफिक व्यवस्थापनको वास्तविक उद्देश्य सडकलाई सुरक्षित, व्यवस्थित र अनुशासित बनाउनु रहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार जरिवाना कुनै लक्ष्य होइन, बरु अन्तिम विकल्प हो, जसको मुख्य उद्देश्य नियम उल्लंघन रोक्दै जनताको जीवन रक्षा गर्नु हो।

निरीक्षक केसीले भन्नुभयो, “हामी जरिवाना उठाउन होइन, जीवन बचाउन सडकमा खटिएका हौं। हाम्रो पहिलो लक्ष्य नियम पालना गराउनु हो, दण्ड होइन। नागरिक सुरक्षित भए मात्र हाम्रो काम सफल हुन्छ।”

झन्डै एक वर्षको आफ्नो कार्यकालमा निरीक्षक केसीको नेतृत्वमा बारा जिल्लाको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार भएको देखिएको छ। यस अवधिमा ट्राफिक व्यवस्थापनलाई केवल नियन्त्रणमुखी नभई जनचेतनामूलक, सहकार्यात्मक र सुधारमुखी बनाउने प्रयास गरिएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ।

वहाँको कार्यकालमा जिल्लाभर नियमित ट्राफिक चेकिङ अभियान सञ्चालन गरिएको, सवारी नियम उल्लंघन नियन्त्रणका लागि निगरानी प्रणाली कडाइ गरिएको तथा सडक सुरक्षा सम्बन्धी विविध कार्यक्रमलाई प्राथमिकता दिइएको बताइएको छ।

Forbes

त्यसैगरी, दुर्घटना न्यूनीकरणलाई लक्ष्य बनाउँदै उच्च जोखिमयुक्त सडक खण्डहरूमा विशेष निगरानी, गस्ती र व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ। भीडभाड हुने बजार क्षेत्र, राजमार्ग तथा शहरी चोकहरूमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने कार्यमा उल्लेखनीय सुधार भएको जनाइएको छ।

निरीक्षक केसीको कार्यकालमा ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। विद्यालय, कलेज, बसपार्क, सार्वजनिक स्थान तथा राजमार्ग क्षेत्रमा ट्राफिक शिक्षा कार्यक्रम सञ्चालन गरी विद्यार्थी, चालक तथा सर्वसाधारणमा ट्राफिक नियमप्रतिको चेतना अभिवृद्धि गरिएको बताइएको छ।

हेल्मेट प्रयोग अनिवार्यताको प्रचार, सीटबेल्टको महत्व, गति नियन्त्रण, लेन अनुशासन, जेब्रा क्रसिङ प्रयोग, तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने खतराबारे व्यापक सचेतना फैलाइएको ट्राफिक प्रहरीले जनाएको छ।

यस प्रकारका अभियानहरूले विशेषगरी युवा तथा नयाँ चालकहरूमा सकारात्मक प्रभाव पारेको र ट्राफिक नियमप्रति बुझाइमा सुधार आएको देखिएको जनाइएको छ। निरीक्षक केसीले पछिल्लो समय सवारी साधनको तीव्र वृद्धि, शहरीकरण, सडक विस्तार तथा चालकको लापरबाहीका कारण दुर्घटनाको जोखिम अझै कायम रहेको उल्लेख गर्नुभयो।

वहाँका अनुसार धेरै सडक दुर्घटनाहरू सानो लापरबाहीका कारण हुने भएकाले यसलाई रोक्न सबैभन्दा प्रभावकारी उपाय नियमको कडाइका साथ पालना हो।

वहाँले भन्नुभयो, “सडक दुर्घटना भाग्य होइन, धेरैजसो अवस्थामा लापरबाहीको परिणाम हो। हेल्मेट नलगाउनु, सीटबेल्ट नबाँध्नु, तीव्र गति वा मोबाइल प्रयोग गरेर गाडी चलाउनु जस्ता गल्तीहरूले ठूलो क्षति पुर्‍याउन सक्छ।”

त्यसैगरी, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिविरुद्ध कडाइ गरिएको र नियम उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाहीसँगै सचेतनामूलक चेतावनीलाई पनि प्राथमिकता दिइएको उहाँले बताउनुभयो।

निरीक्षक केसीको नेतृत्वमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्थानीय तह, यातायात व्यवसायी, चालक संघ तथा समुदायसँग समन्वय बढाइएको बताइएको छ। यातायात व्यवस्थापनलाई सहज बनाउन भीडभाड हुने स्थानहरूमा समय व्यवस्थापन, मार्ग निर्देशन, तथा ट्राफिक प्रवाह सुधार गर्ने प्रयास गरिएको जनाइएको छ। साथै, सम्भव भएसम्म प्रविधि र निगरानी प्रणालीको प्रयोगलाई पनि विस्तार गरिएको छ।

वहाँका अनुसार ट्राफिक व्यवस्थापन केवल प्रहरीको जिम्मेवारी मात्र नभई सम्पूर्ण समाजको सहकार्यबाट मात्र सम्भव हुन्छ। निरीक्षक केसीले ट्राफिक प्रहरी र सर्वसाधारणबीच विश्वास र सहकार्य अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले प्रहरीको कडाइलाई दण्डात्मक रूपमा होइन, सुरक्षात्मक रूपमा बुझ्न आग्रह गर्नुभयो।

वहाँले भन्नुभयो, “ट्राफिक प्रहरी जनताको विरोधी होइन, जनताको सुरक्षाको पहरेदार हो। नियम पालना हुँदा सबै सुरक्षित हुन्छन्।” उहाँका अनुसार नागरिकले नियम पालन गरेमा अनावश्यक जरिवानाको अवस्था नै नआउने र सडक स्वतः सुरक्षित बन्नेछ।

झन्डै एक वर्षको कार्यकालको अनुभवका आधारमा निरीक्षक दीपक केसीले ट्राफिक प्रहरीको मूल उद्देश्य स्पष्ट रूपमा दोहोर्‍याउँदै जरिवाना होइन, सुरक्षित जीवन र व्यवस्थित सडक प्रणाली नै मुख्य लक्ष्य भएको बताउनुभयो।

वहाँले सबै चालक, यात्रु, पैदल यात्री तथा सरोकारवालालाई ट्राफिक नियमलाई गम्भीरतापूर्वक पालना गर्न आग्रह गर्दै “सुरक्षित सडक, सुरक्षित जीवन र जिम्मेवार नागरिकता” नै दीगो समाधान भएको सन्देश दिनुभयो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु