चलचित्र ‘बा : एक योद्धा’को छायांकन सुरु

एटुजेड समाचार

काठमाडौं – नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने भएका छन् । उनकै लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली चलचित्र ‘बा : एक योद्धा’ को सोमबारबाट औपचारिक रूपमा छायांकन सुरु गरिएको छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा चलचित्रको निर्माण पक्षको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गर्दै निर्माण कार्यको थालनि गरिएको हो ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले नेपाली समाजको एउटा मार्मिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेको छ ।

चलचित्रको शीर्षक र सार्वजनिक गरिएको पोस्टरको ‘थिम’ ले यो एक शुद्ध सामाजिक कथाबस्तु हुने संकेत गर्छ । नेपाली परिवारमा बुवाको महत्त्व, उनले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई एउटा ‘योद्धा’को रूपमा चित्रण गर्न खोजिएको बुझिन्छ । विशेषगरी ग्रामीण तथा सहरी समाजमा एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारीको कथालाई यो चलचित्रले पर्दामा उतार्नेछ ।

यो सिनेमामा स्थापित र अनुभवी सिनेमेटोग्राफर शिवराम श्रेष्ठको छायाकंन रहने छ । श्रेष्ठले यसअघि चर्चाको शिखरमा रहेका र व्यापारिक रूपमा ब्लकबस्टर सावित भएका चलचित्रहरू ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता सिनेमाहरू खिचेर आफ्नो कौशल प्रदर्शन गरिसकेका छन् । उनको छायांकन रहने भएकाले पनि चलचित्र ‘बा : एक योद्धा’ भिजुअलका हिसाबले उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु