पर्सा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इनरुवामा सञ्चालन गरेको घरदैलो अभियानले स्थानीय राजनीति तताएको छ। पार्टीका अगुवा नेता हरि पन्तको नेतृत्वमा गरिएको अभियानमा जनसागर उर्लिँदा सयौँ नागरिक तथा विभिन्न दल परित्याग गरेका नेता–कार्यकर्ताले सामूहिक रूपमा रास्वपामा ऐतिहासिक पार्टी प्रवेश गरेका छन्।
विशेषगरी लामो समयदेखि इनरुवामा प्रभाव जमाउँदै आएको नेकपा (एमाले) का समर्थकहरू समेत रास्वपातर्फ आकर्षित हुन थालेपछि स्थानीय राजनीतिक समीकरणमा ठूलो परिवर्तन आउने संकेत देखिएको छ। यही कारण एमाले वृत्तमा चिन्ता र आन्तरिक छलफल तीव्र बनेको बताइन्छ। घरदैलो कार्यक्रमका क्रममा हरि पन्तले घर–घर पुगेर नागरिकका गुनासा सुन्दै भ्रष्टाचारमुक्त शासन, जवाफदेही राजनीति र युवामैत्री रोजगारी सिर्जनामा जोड दिए।
उनले भने, “अब जनताले भाषण होइन, परिणाम खोजिरहेका छन्। रास्वपा पुरानो राजनीतिक संस्कार तोड्न जन्मिएको शक्ति हो।” कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूमा युवा, महिला, व्यवसायी, शिक्षक तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नयाँ प्रवेशकर्ताहरूले पुराना दलहरूले जनअपेक्षा पूरा गर्न नसकेको र वैकल्पिक शक्तिका रूपमा रास्वपा भरोसायोग्य देखिएकाले पार्टी रोजेको बताएका छन्।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार इनरुवामा देखिएको यो जनलहरले आगामी निर्वाचनमा प्रत्यक्ष असर पार्नेछ।
रास्वपाको संगठन विस्तारसँगै जनसमर्थन तीव्र रूपमा बढ्दा परम्परागत दलहरू, विशेषतः एमाले दबाबमा परेको संकेत देखिएको उनीहरूको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनमा इनरुवासहित सुनसरीका अन्य पालिकामा पनि घरदैलो अभियानलाई अझ व्यापक बनाउने जनाएको छ।


