भरतपुर – अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ को दोश्रो दिन मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सह–सचिव डा. शरण पाण्डे प्रमुख अतिथि रहनुभएको थियो ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.सचिव एवम् कार्यक्रम संयोजक कल्याण अधिकारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा वक्तृत्वकला कार्यक्रमका निर्णायक मण्डलका संयोजक, प्रेसिडेन्सी कलेज भरतपुरका प्राध्यापक एवम् नेपाली विभागका प्रमुख अमृत ढकालले वक्तृत्वकला प्रतियोगिताको नियम प्रस्तुत गर्नुभएको थियो ।
वक्तृत्वकला कार्यक्रमका निर्णायक सदस्यहरुमा हेफर नेपालका निर्देशक डा. लेखनाथ अधिकारी, न्यू क्यापिटल कलेज, रत्ननगरका प्राध्यापक बिष्णुप्रसाद पौडेल रहनुभएको थियो ।
२४ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा कडा प्रतिस्पर्धाबीच निर्णायक मण्डलका संयोजक अमृत ढकालले निर्णय सार्वजनिक गर्नुभएको थियो । प्रतियोगितामा स्मल हेभन मोडेल स्कूल भरतपुर कक्षा ९ मा अध्ययनरत छात्रा सनिसा गौतम प्रथम, नारायणी ई.पब्लिक सेकेण्डरी स्कूल भरतपुर कक्षा १२ मा अध्ययनरत छात्र समीप खत्री द्वितीय, नारायणी नमूना माध्यमिक विद्यालय भरतपुर कक्षा १० मा अध्ययनरत छात्रा विपस्वी कुँबर तृतीय र लाइसियम इन्टरनेशनल मोडेल स्कूल, रत्ननगर कक्षा ९ मा अध्ययनरत छात्रा रहिसा अधिकारी सान्त्वना भएका थिए ।
प्रदर्शनीको तेश्रो दिन डा. रविन वस्ताकोटीले पशुपालनमा देखिने रोग र उपचार विधि, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका प्रा.डा.उद्धव पनेरुले दुध तथा दुग्धजन्य पदार्थको बजारीकरण : स्वदेशी बजारको सुदृढिकरण र निर्यातको लागि अवसर र चुनौति, प्रा.डा.निराजन भट्टराईले प्रविधि र गुणस्तरीय दुध उत्पादन : प्रविधिमा आधारित गुणस्तरीय दुग्ध उत्पादन, वर्तमान अवस्था र तत्कालिन सुधारको मार्गचित्र, Use of Modern Technology for Quality Enhancement, Productivity Increment and Marketing in dairy sector- Sudha Dairy India, राष्ट्रिय दुग्ध विकास वोर्डका निर्देशक डा.हसना श्रेष्ठले नेपालमा दुध क्षेत्रको वर्तमान अवस्था र भावि गन्तब्य लगायतका विषयमा कार्यपत्र प्रस्तुत सहितको प्यानल छलफल सम्पन्न हुँदैछ ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादव, दुग्ध विकास संस्थानका अध्यक्ष डा.रामनन्दन तिवारी, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव डा.शरण पाण्डे, पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहाल, केन्द्रीय दुग्ध सहकारी संघ लि.का अध्यक्ष अमर बहादुर कुँबर, डेरी उद्योग संघ÷नेपाल डेरी एशोसिएसनका अध्यक्ष लगायतको सहभागिता रहनेछ ।
त्यस्तै प्रदर्शनीको चौथो दिन दुग्ध क्षेत्रसँग सम्वन्धित हाजिरी जवाफ प्रतियोगिता ÷ उन्नत जातको गाई प्रर्दशनी ÷ सातै प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा एक–एक वटा उत्कृष्ट दुग्ध उत्पादक सहकारी सम्मान कार्यक्रम सञ्चालन गरिनेछ ।
चितवन उद्योग संघका कार्यक्रम अधिकृत कल्पना आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरेले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुृभएको थियो ।


