पर्सा – पर्सा जिल्लाको पोखरिया नगरपालिकाअन्तर्गत पर्ने क्षेत्रमा ईलाका प्रहरी कार्यालय पोखरियाले शान्ति सुरक्षा थप मजबुत बनाएको छ। प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा अपराध नियन्त्रण, सीमा सुरक्षामा कडाइ तथा समुदाय–प्रहरी सहकार्यलाई प्राथमिकतामा राख्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको हो।
खुला सीमा जोडिएको संवेदनशील क्षेत्र भएकाले चोरी, तस्करी, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष रणनीति अपनाइएको प्रहरीको भनाइ छ। यसअन्तर्गत सीमा क्षेत्र, मुख्य चोक, बजार क्षेत्र तथा आवागमन बढी हुने स्थानहरूमा नियमित दिन–रात गस्ती बढाइएको छ भने सवारी साधन तथा शंकास्पद व्यक्तिमाथि कडाइका साथ चेकजाँच भइरहेको छ।
ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले शान्ति सुरक्षा प्रहरीको मात्र जिम्मेवारी नभई समाजको साझा दायित्व भएको बताए। उनले भने, “क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न प्रहरी सधैं सक्रिय छ। अपराध नियन्त्रणका लागि हामीले गस्ती र निगरानी बढाएका छौं भने स्थानीयवासीसँग समन्वय गरेर सूचना संकलनलाई प्रभावकारी बनाएका छौं।”
प्रहरीका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणसँग निरन्तर छलफल र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। यसले प्रहरी र जनताको सम्बन्ध सुदृढ हुनुका साथै अपराध न्यूनीकरणमा सकारात्मक प्रभाव परेको जनाइएको छ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै संयुक्त गस्तीसमेत सञ्चालन भइरहेको छ। साथै, आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको र कानुन विपरीत कार्यमा संलग्न देखिए तत्काल कारबाही गरिने प्रहरी प्रशासनले जनाएको छ।
स्थानीय बासिन्दाहरूले पछिल्लो समय प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार पहिलेको तुलनामा अपराधका घटनामा कमी आएको छ भने रातिको समयमा समेत सुरक्षित महसुस गर्न थालेका छन्।
प्रहरी निरीक्षक पौडेलले आगामी दिनमा पनि शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्दै सर्वसाधारणलाई कुनै पनि शंकास्पद गतिविधि देखिए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन्। उनले प्रहरी–जनताको सहकार्यबाट मात्र सुरक्षित समाज निर्माण सम्भव हुने बताए।


