बिरगंजमा अटोको अराजक राज, ट्राफिक प्रमुख पूर्ण रूपमा असफल

पर्सा – बिरगंज सहर अहिले अटो रिक्साको कब्जामा छ। सडक होइन, अटो चालकको निजी खेलमैदान बनेको छ। जहाँ मन लाग्यो त्यहीँ रोकिने, जथाभावी यात्रु तानातान गर्ने, गलत लेनमा कुद्ने—यी सबै अब ‘सामान्य’ दृश्य बनेका छन्। नियम, कानून र अनुशासनको यहाँ कुनै अर्थ छैन।

तर सबैभन्दा लज्जास्पद र आक्रोशपूर्ण कुरा के हो भने—यस्तो खुल्ला अराजकताबीच पनि ट्राफिक प्रहरी प्रमुख मौन छन्। प्रश्न उठ्छ: उनी ट्राफिक प्रमुख हुन् कि मूकदर्शक? कि बिरगंजको ट्राफिक व्यवस्था अटो चालकको हातमा सुम्पिइसकिएको हो?

“ट्राफिक प्रहरी देखिए पनि अटो देख्दा आँखा चिम्लिन्छन्,” एक स्थानीयले कटाक्ष गरे।
अर्कोको आक्रोश अझ चर्को छ—“यदि यही अवस्था हो भने ट्राफिक कार्यालय बन्द गरे हुन्छ। कम्तीमा नाटक त हुँदैन।”

विद्यालय जाने बालबालिका, अस्पताल जाने बिरामी, काममा हतारिएका सर्वसाधारण—सबै अटोको मनपरीका बन्धक बनेका छन्। साना दुर्घटना दैनिक छन्, ठूला दुर्घटना कुर्दैछ जस्तो अवस्था छ। तर जिम्मेवार निकाय भने निद्रामा छ।

यो लापरवाही होइन, घोर गैरजिम्मेवारी हो। यस्तो मौनताले ट्राफिक प्रशासनमाथि गम्भीर शंका जन्माएको छ—कतै संरक्षण त छैन? कि कमजोरी लुकाउन चुप लागिएको हो?

Forbes

यस अव्यवस्थाका कारण सवारी जाम, साना दुर्घटना र सर्वसाधारणको हैरानी चरम सीमामा पुगेको छ। तर सबैभन्दा गम्भीर कुरा के भने—यति ठूलो समस्याबीच पनि ट्राफिक प्रहरी प्रमुखको तर्फबाट कुनै ठोस कदम नचालिनु र मौन बस्नु नै हो।
न अनुगमन देखिन्छ, न कारबाही। यस्तो लापरवाहीले ट्राफिक प्रशासनको क्षमता र इच्छाशक्तिमाथि गम्भीर प्रश्न उठाएको छ। कतै अटो चालकको दबाब त होइन? कि मौनता भित्र कुनै ‘समझदारी’ लुकेको छ? यस्ता प्रश्न अब खुल्ला रूपमा उठ्न थालेका छन्।

अब जनताले माग होइन, चेतावनी दिन थालेका छन्।
यदि तुरुन्तै कडा अनुगमन, कडा कारबाही र स्पष्ट कार्ययोजना आएन भने, बिरगंजमा ट्राफिक अराजकताको जिम्मेवारी सिधै ट्राफिक प्रमुखको काँधमा जानेछ।

बिरगंजलाई अटो चालकको अराजक शहर बनाउने छुट कसैलाई छैन।
अब मौनता होइन—जवाफ र कारबाही चाहिन्छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु