झापा — जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले आफ्नो कार्यकालभर कुनै दबाब, प्रभाव वा पक्षपात बिना निष्पक्ष रूपमा काम गर्ने स्पष्ट र कडा प्रतिबद्धता जनाएकी छन्।
झापामा आयोजित एक औपचारिक कार्यक्रममा बोल्दै एसपी खड्काले कानुन सबैका लागि समान हुने भन्दै अपराध गर्ने जोसुकै भए पनि कानुनको दायरामा ल्याइने बताइन्।
उनले भनिन्, “म जतिदिन झापामा बस्छु, त्यतिन्जेल निष्पक्ष, इमानदार र व्यावसायिक रूपमा काम गर्छु। पद, पहुँच, राजनीति वा आर्थिक हैसियतका आधारमा कसैलाई छुट दिइँदैन।”
उनको यो भनाइ पछिल्लो समय प्रहरीमाथि उठ्दै आएका पक्षपात र दबाबका आरोपहरूप्रति कडा सन्देशका रूपमा हेरिएको छ।
एसपी खड्काले शान्ति सुरक्षा कायम गर्नु, अपराध नियन्त्रण गर्नु र नागरिकको जिउधनको सुरक्षा गर्नु प्रहरीको मुख्य दायित्व भएको उल्लेख गर्दै नागरिकमैत्री प्रहरी सेवामा जोड दिइन्। उनले लागूऔषध, तस्करी, संगठित अपराध, घरेलु हिंसा तथा सामाजिक अपराधविरुद्ध कडाइका साथ कारबाही गरिने स्पष्ट पारिन्।
“प्रहरी जनताको सेवक हो। जनताको विश्वास जित्नु नै मेरो प्राथमिकता हो,” उनले भनिन्, “गल्ती गर्ने प्रहरी कर्मचारीमाथि पनि कानुनअनुसार कारबाही हुन्छ, त्यसमा कुनै सम्झौता हुँदैन।”
उनले झापालाई शान्त, सुरक्षित र अनुशासित जिल्ला बनाउन सरोकारवाला निकाय, सञ्चारकर्मी तथा सर्वसाधारणसँग सहकार्यको अपिलसमेत गरिन्। प्रहरी र नागरिकबीचको सम्बन्ध बलियो भए मात्र अपराध नियन्त्रण सम्भव हुने उनको भनाइ थियो।
एसपी खड्काको कडा र स्पष्ट अभिव्यक्तिलाई जिल्लामा निष्पक्ष प्रहरी प्रशासनको संकेतका रूपमा लिइएको छ। स्थानीयवासी र सरोकारवालाले उनको प्रतिबद्धता व्यवहारमा पनि देखिने अपेक्षा गरेका छन्।


